बाजेको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकमध्ये एकको मृत्यु

बैतडी । बैतडीमा बाजेको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय नातीको उपचारका क्रममा मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका–६, मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेलधुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो ।
बाजे गणेशकै कुटाइबाट आठ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन् । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आईसीयूमा राखेर उनको उपचार हुँदै छ ।
बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवैजनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।
कुटपिट गर्ने बाजे साउदलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनमा राखेर अनुसन्धान भइरहेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए । रिजन र रेशमका बुवा कामको सिलसिलामा धनगढीमा छन् ।





प्रतिकृया दिनुहोस्