April 19, 2026, Sunday
२०८३ बैशाख ६

भारतबाट खाना पकाउने ग्यासको मूल्य घटेर आयो

काठमाडौं । भारतबाट एलपिजी ग्यासको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको हो।

यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ घाटा थियो। आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ।

त्यस्तै, डिजेलमा प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ। नयाँ मूल्यअनुसार पन्ध्र दिनमा एक अर्ब ६० करोड रूपैयाँ नाफा हुने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए।

अब आन्तरिक बजारमा भने पेट्रोलियम पदार्थको मूल्य के हुनेछ भन्नेबारे निगम सञ्चालक समितिले छलफल गर्ने उनले जानकारी दिएका छन्।

हाल बजारमा प्रतिलिटर पेट्रोल १ सय ७५ रूपैयाँ, डिजेल र मट्टीतेल १ सय ५५ रूपैयाँ, हवाई इन्धन आन्तरिक १ सय ६० रूपैयाँ र बाह्य १ डलर ३५ सेन्ट र खाना पकाउने एलपिजी ग्यास सिलिन्डरको १८ सय रूपैयाँ छ।

नेपाल आयल निगमले आइओसीसँग पेट्रोलियम पदार्थ किनेर नेपालमा बिक्री वितरण गर्छ। आइओसीलाई नेपाल आयल निगमलाई पत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य पठाउँने गर्छ।