बसाइँसराइ रोक्न पालिकालाई चुनौती, अधिकांश बस्ती रित्तिन थाले

अछाम । स्थानीय तह गठनपछि सरकारी सेवासुविधा गाउँमै पुगे पनि बसाइँसराइ गर्ने क्रम रोकिएको छैन । यहाँका अधिकांश पुरुष कामको खोजीमा भारत र तेस्रो मुलुक जाने र उनीहरूको कमाइ पनि तराईका जिल्लामा नै केन्द्रीत हुन थालेको हो ।
अहिले अछामका अधिकांश बस्ती रित्तिन थालेका छन् । गाउँघरमा पहिले– जस्तो खेती गर्ने युवा भेटिन छाडेका छन् । उहिलेका उब्जनी हुने फाँटसमेत अहिले बाँझै हुन थालेका छन् । काम गर्ने जनशक्तिको अभाव छ । बस्तुभाउ पाल्ने र घाँस काट्ने पहिले जस्तो काम पनि अत्यन्तै कम हुने गरेको छ ।
बसाइँसराइका कारण पहाडी क्षेत्रमा वनजंगलको भाग बढिरहेको छ । गाउँबस्तीमा जंगली जनावर भित्रिन थालेका छन् । चितुवालगायतका जनावर अहिले बस्तीमै पुगेर आक्रमण गरेका घटना सार्वजनिक भइरहेका छन् । सुख र अवसरको खोजीमा बसाइँसराइ हुँदा गाउँघर रित्तिएका हुन् । भएका युवा कामको खोजीमा विभिन्न देशमा जाने र घरमा भएकाले सुविधाको खोजीमा सहरबजारतिर झर्ने क्रम बढेसँगै गाउँ रित्तिएका हुन् । युवाले पठाएको रकमले तराईतिर बसाइँ सर्नाका कारण गाउँघर रित्तिन थालेको हो । स्तरीय जीवनशैलीको खोजीले जिल्लाका पहाडी बस्तीबाट बसाई सर्ने क्रम रोकिएको छैन । सबैलाई टोलबस्तीमा मोटरबाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली र सञ्चार सुविधा चाहिएको छ ।
सदरमुकाममा रहेको मंगलसेन नगरपालिकाको तथ्यांक अनुसार २०७४ बैसाखदेखि चैतसम्म ७८ घरपरिवारका ३ स १० जना बसाइँ सरेका छन् । नगरपालिकामा आउनेको संख्या १ रहेको मंगलसैन नगरपालिकाका सुचना अधिकारी खगेन्द्र रिमालले बताए । उनकाअनुसार २०७५ वैशाखदेखि असारसम्म २५ घरपरिवारका ८४ जना बसाइँ सरेर गएका छन् । नगरपालिकामा बसाइँ सरेर आउनेको संख्या १ छ ।
पछिल्लो वर्षमा पनि बसाईसराईं गरेर जानेको दर घट्न सकेको छैन । गाउँमा बिजुली, सञ्चार, यातायात, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास सोचेजस्तो नभएकाले धेरैले गाउँ छोड्न थालेको तुर्माखादका नैनबहादुर बुढाले बताए । ‘मोटरबाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, बिजुली, सञ्चार र पूर्वाधार विकास राम्ररी पुगेको छैन । बसाइँसराइ रोक्न गाउँबस्तीमा विकास पुर्याउनु चुनौती छ,’ उनले भने ।
मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले शिक्षा, स्वास्थ्यमा लगानी बढाएर बसाइँसराइ व्यवस्थित गर्नतर्फ लागेको बताए । शिक्षित व्यक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन सके बसाइँसराइ रोकिने उनले दाबी गरे । ‘उत्पादनमूलक वस्तु, कृषि र पशुपालनमा सेयर लगानीको वातावरण बनाउन योजना बनाउँदै छौं’ उनले भने, ‘समृद्ध, सहकारीमार्फत आयआर्जन आत्मनिर्भर बनाउने र गाउँमै बस्न मन पराउने वातावरण मिलाउँछौं ।’
माटो परीक्षण गर्ने त्यसपछि फलफूल, तरकारी, जडीबुटी, अन्न उत्पादन, पशुपालनमा बिमा गरी आम्दानीको स्रोत बनाएपछि बसाइँसराइ घटाउने उनले बताए । सबै स्कुलमा अंग्रेजी माध्यमको पढाइलाई जोड दिएर बसाइँसराइ रोकिन सक्ने शिक्षक काशिराम सुवेदी बताउँछन् । ‘विकासका लागि सबैभन्दा बलियो शिक्षा हुनुपर्छ । अहिले अंग्रेजीप्रतिको आकर्षण बढ्दो क्रममा छ । त्यसैले अंग्रेजी शिक्षामा जोड दिनुपर्छ,’ उनले भने ।
पैसा कमाएर सहरमा घरघडेरी जोडेपछि कोही पनि गाउँ फर्कंदैन भन्दै पूर्व जनप्रतिनिधि गंगाराम भण्डारीले आयआर्जनका कार्यक्रम, युवालाई गाउँमा स्वरोजगार र दुर्गम बस्तीसम्म राज्यको उपस्थिति हुनुपर्नेमा जोड दिए । ‘बसाइँसराइ रोक्ने उपाय यही नै हो,’ उनले भने, ‘सर्वसाधारण गाउँको बस्ती चटक्कै छाडेर किन सहर झर्छन्, अनुसन्धान गरी सुविधाको व्यवस्थापन र सेवा उपलब्ध गराउनमा जोड दिनुपर्छ ।’
१० वटै स्थानीय तहमा सम्पन्न भएका नगर र गाउँसभाले पूर्वाधारका योजना आफ्ना नीति तथा कार्यक्रममा पारेका पनि छन् । अब कसरी बसाइँसराइ रोक्न सकिन्छ भन्ने चुनौती जनप्रतिनिधिलाई छ । कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्