April 18, 2026, Saturday
२०८३ बैशाख ५

कञ्चनपुरको बेलौरी-पुनर्वासमा बाघ देखिन थालेपछि स्थानीयमा त्रास

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी–पुनर्वासमा बाघ देखिन थालेपछि स्थानीयमा त्रास छाएको छ । पछिल्लो केहि दिन यता बेलौरी–पुनर्वासका बिभिन्न क्षेत्रमा बाघ देखा परेको स्थानीयहरुले बताएका हुन् ।

गत चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गर्न गएकी पुनर्वास नगरपालिका– १० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको थियो। त्यसको एक सातापछि बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट एक जना भारतीय महिलाको मृत्यु भएको थियो।

मंगलबार पनि बेलौरी–पुनर्वासका बिभिन्न क्षेत्रमा बाघ देखा परेको स्थानीयहरुले बताएका हुन् । पुनर्वास १० भीमबस्ती, पुनर्वास ४ शहिद गौतम चोक, सीमा स्तम्भ नम्बर २०२, २०३, २०४ क्षेत्र बेलौरी १ र २, बेलौरी ६ स्थित भन्सार क्षेत्र देखि बेलौरी ७ र ८ पचुइसम्म बाघ देखापरेको स्थानीयहरुको भनाइ छ ।

बाघको त्रास बढेपछि कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरको टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय युवाहरूको टोलीले सीमा क्षेत्रमा निगरानी बढाएका छन्।

यी क्षेत्रहरूमा देखिने बाघ छुट्टाछुट्टै भएको स्थानीयको दाबी छ । पछिल्लो समयमा पोथी बाघले भाले बाघबाट आफ्ना डमरुलाई बचाउन तथा हुर्काउन नेपालतर्फको लालझाडी मोहना करिडोरमा आएको सब डिभिजन बन कार्यलय पचकडिया प्रमुख दिनेशकुमार यादव बताउँछन् ।

बाघले डमरु सँगसँगै ल्याएको बेला मानिसलाई देख्दा बढी आक्रामक हुने गरेका कारण यस्तो समयमा जंगलमा नजाने तथा जानै परे समूहमा जान यादवको भनाई छ । बाघ बस्तीमा पस्न नदिन यी क्षेत्रका स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् ।