April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपाल शिक्षक संघद्वारा आयोग पास गरेका शिक्षकलाई बधाई तथा सम्मान

धनगढी । शिक्षक सेवा आयोग पास गरेका शिक्षकलाई नेपाल शिक्षक संघले बधाई तथा सम्मान गरेको छ । नेपाल शिक्षक संघ नगर कार्य समिति धनगढीले सुदूरपश्चिमबाट शिक्षक सेवा आयोग पास गरेका नव प्रवेशी शिक्षकहरुलाई बधाई तथा सम्मान गरेको हो ।

पाल शिक्षक संघ नगर अध्यक्ष मोहन भण्डारीका अनुसार सुदूरपश्चिमका सबै जिल्लाबाट शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भएका शिक्षकहरुलाई एक भव्य समारोहका बीच बधाई तथा सम्मान गरिएको हो ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष लक्ष्मणदत्त भट्टले शिक्षकका हक हित र पेशागत सुरक्षाका लागि नेपाल शिक्षक संघ लागिपरेको बताए । उनले भने,‘हामी शिक्षकका हक हितका लागि लड्ने संस्थासँग आवद्ध छौँ । शिक्षक सेवा आयोगमा पास भएर आएका शिक्षक साथीहरुलाई पनि साथसाथै लगेर तपाईहरुका समस्याबारे सम्बोधन गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।’

कार्यक्रममा नेपाल शिक्षक संघ कैलाली अध्यक्ष तेज सिंहले नेपाल शिक्षक संघ सेवामा प्रवेश गरेका शिक्षकहरुको वृत्ति विकासका लागि आफूहरु तुरुन्तै छलफलमा लाग्ने बताए । उनले भने,‘भर्खरै शिक्षक सेवा आयोग पास गरेका शिक्षकको वृत्ति विकासका साथै आइपर्ने समस्या समाधान गर्न हामी तम्तयार छौँ । त्यसका लागि जिल्लामा एक जुझारु टिम भर्खरै निर्वाचित भएर आएको छ ।’

कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष भूपालसिंह खड्काले भर्खरै सम्पन्न भएको एकताको अधिवेशनले नेपाल शिक्षक संघले राम्रो नेतृत्व पाएको र त्यो नेतृत्वले पेशागत समस्या समाधान गर्न लागि पर्ने विश्वास गरे ।

पूर्व शिक्षक नेता भीमबहादुर बलायरले कांग्रेसले सधैँभरि शिक्षकका समस्या समाधान गरेको स्मरण गरे । शिक्षक संघका जिल्ला सचिव हरिषकुमार ओझाले पेशागत हक हितका साथै दक्षता र विकासका लागि हामी जिल्ला कार्य समितिबाट लागिपर्ने बताए । नेपाल शिक्षक संघले भर्खरै आयोग पास गरेर आएका शिक्षक साथीहरुको दक्षता अभिवृद्धि गर्न बिदाको दिन पारेर पनि तालिम दिन प्रयासरत रहने उनले बताए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका सहसचिव पदमराज जोशीले शिक्षक संघले उठाएका माग तथा मुद्दालाई समाधान गर्न महासंघको तर्फबाट आफूले सहयोग गर्ने बताए ।

धनगढी उपमहानगरपालिकाका निवर्तमान नगर अध्यक्ष नवराज ओझाले राज्यले शिक्षकलाई हेर्ने दृष्टिकोण नै राम्रो नभएको बताए । उनले भने,‘शिक्षकलाई निजामति कर्मचारी सरह सेवा सुविधा दिन सक्नुपर्छ, त्यसका लागि सरकारले शिक्षा नीति परिमार्जित गरेर लागू गर्नुपर्छ ।’
कार्यक्रम नेपाल शिक्षक संघ नगर अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।