April 18, 2026, Saturday
२०८३ बैशाख ५

ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारको मृत्यु

बैतडी। बैतडीमा ड्युटीमा खटिएका एक जना प्रहरीको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका ७ रतनपुरका अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बैतडीको मेलौली नगरपालिका २ सलेना प्रहरी चौकीमा कार्यरत चौधरी ड्युटीमा खटिएको बेला बुधबार बेलुका एक्कासी ढलेका थिए। त्यसपछि प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याएको थियो।

उपचार क्रममा प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

उनको मृत्युको कारण खुलेको छैन। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। ‘आफन्तहरु आउँदैछन्, शव पोष्टमार्टमका लागि अस्पतालमा छ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘आफन्त पुगेपछि पोस्टमार्टमको प्रक्रिया अघि बढ्छ।’