भारतबाट इन्धनको मूल्य घटेर आयो : हाललाई मूल्य यथावत् रहने, ग्यासको मूल्य ३३९ रुपैयाँले बढ्यो

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएको हो ।
नेपाल आयल निगमका अनुसार आईओसीले बुधबार मात्रै निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल ५ रुपैयाँ ५ पैसा, मट्टितेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ७ रुपैयाँ ३ पैसा घटाएर नयाँ सूची पठाएको हो ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले बताएको छ । नयाँ मूल्य सूची अनुसार निगमलाई आगामी १५ दिनमा ४४ करोड रुपैयाँ फाइदा हुने देखिएको छ ।
नेपाल आयल निगमले इन्धनको भाउ हाललाई यथावत् राख्ने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको हो ।
ग्यासमा प्रतिसिलिण्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले जनाएको छ । अब ग्यासमा मात्रै प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । निगमका अनुसार सरकारलाई तिर्नुपर्ने ऋण र आईओसीलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब छ ।





प्रतिकृया दिनुहोस्