April 18, 2026, Saturday
२०८३ बैशाख ५

बैतडीमा जीवन बुडाल मृत्यु प्रकरण : आफन्तले शव बुझेनन्, १२ जना पक्राउ

बैतडी। बैतडीमा शनिबार राति मृत फेला परेका २५ बर्षीय जीवन बुडालको शव अझै परिवारले बुझेका छैनन् । शनिबार राति मृत फेला परेका दशरथचन्द नगरपालिका १० खडेनीका २५ बर्षीय बुडालको हत्या गरिएको भन्दै परिवारजनले शव नबुझेका हुन ।

पिकनिक मनाउन अन्य ११ जना साथीहरुसंगै दशरथचन्द नगरपालिका ६ सेरा गएका बुडाल शनिबार राति मृत अवस्थामा फेला परेका थिए ।मृतक बुडालको शव पोष्टमार्टम गरिएपनि अस्पतालमै राखिएको छ । बुडालको हत्या गरिएको भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन् ।

परिवारजनले बुडालसंगै पिकनिक खान गएका १२ जनाको नाममा किटानी जाहेरी दिएको छ । जाहेरी पछि १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

पिकनिक खान गएका ११ जना र  गाडी चालकसहित १२ जनामाथि अनुसन्धानका लागि किटानी जाहेरी दिएको मृतकका दाजु गोविन्द बुडालले बताए । उनीहरुमाथि ज्यान सम्बन्धि कसुरको जाहेरी दर्ता भएको छ ।

 राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत रहेका मृतक जीवन बुडाल विदामा घर आएका बेला शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट पिकनिक मनाउने भन्दै ११ जना साथीसँग म १ ज २२२ नं.को जिपमा दशरथचन्द नगरपालिका–६, शेरा गएका थिए । पिकनिक मनाउन गएका बुडाल कहिले नफर्कने गरेर अस्ताएपछि अहिले घरपरिवार शोकमा डुबेको छ ।