सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्ववियु निर्वाचन हुँदै

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पसमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो ।
२०६६ मा सुदूरपश्चिम विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो। केन्द्रीय क्याम्पससहित १५ आंगिक क्याम्पसमा निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताएका हुन।
विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनको माग गर्दै आएका थिए। रजिस्ट्रार पाठकले विद्यार्थी संगठनहरूसँग छलफलपछि निर्वाचनको मिति घोषणा गरिएको बताए।
तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा परिणत गरेर पठनपाठन सुरु भएको थियो । त्यसपछि प्रदेशका अन्य क्याम्पसहरूलाई पनि आंगिकता प्रदान गरिएको थियो । यद्यपि आंगिक बनाउने विषयमा भने विवाद कायमै छ ।
प्राध्यापकदेखि कर्मचारी समायोजनमा विवाद छ । स्ववियु निर्वाचन घोषणा भएपछि विद्यार्थी संगठनहरूले स्वागत गरेका छन् । विश्वविद्यालयमा हाल १७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।





प्रतिकृया दिनुहोस्