डोटीमा भैरबप्रसाद गणले लोक नृत्य प्रतियोगीता गर्ने

डोटी । डोटीमा अन्तरविद्यालय स्तरीय लोक नृत्य प्रतियोगीता हुने भएको छ । डोटीमा रहेको नेपाली सेनाको भैरब प्रसाद गणले शुक्रबार अन्तरविद्यालय स्तरीय लोक नृत्य प्रतियोगीता आयोजना गर्ने भएको हो ।
भैरब प्रसाद गणका गणपति जनमत कार्कीले बुधबार पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा डोटेली लोकसंस्कृतीको संरक्षण गर्ने उदेश्यले प्रतियोगीताको आयोजना भइरहेको बताएका हुन ।
खेलकुदका विभिन्न विद्याहरुमा स्थानीय देखि प्रदेशस्तरसम्मका प्रतियोगीता आयोजना गरिरहेको नेपाली सेनाले डोटीमा अन्तरविद्यालय स्तरीय लोक नृत्य प्रतियोगीता हुने भएको गणपति कार्कीले बताए ।
‘हाम्रो लोकसंस्कृती युवापुस्तामा पनि हस्तान्तरण होस भन्ने उदेश्यले अन्तर विद्यालयस्तरीय प्रतियोगिता गर्दैछौं’, कार्कीले भने, ‘विद्यालयको उत्साहपूणर् सहभागिता रहने विश्वास छ ।’ गणपति कार्कीले प्रथम हुनेलाइ १५ हजार, दोस्रो हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार नगद पुरुस्कारको व्यवस्था रहेको जानकारी दिए ।
प्रतियोगीता सिलगढी स्थित टुँडीखेलमा शुक्रबार दिउँसो ११ बजेबाट सुरु हुने जनाइएको छ । यस अघि भैरब प्रसाद गणले खप्तड शैलेश्वरी म्याराथन दौड प्रतियोगीता, खप्तड फुटबल प्रतिगिता लगायत विभिन्न विद्यामा खेलकुदको आयोजना गरिसकेको छ ।
स्थानीय सांस्कृति तथा परम्पराहरुमा समेत सहभागिता जनाउदै आएको भैरब प्रसाद गणले नेपाली सेना दिवस माघ २७ गतेबाट साताव्यापी मनाउने भएको छ । सेना दिवसकै अवसरमा भैरब प्रसाद गणले यो प्रतियोगीता आयोजना गरिरहेको हो ।
फागुन ६ गते नेपाली सेना दिवसको अवसर पारेर लोकसंस्कृति, भैरब प्रसाद गणसंग रहेको ऐतिहासिक भेषभूषा तथा युद्धकला, विभिन्न ज्ञानमुलक सन्देशहरुको समेत प्रर्दशन गर्ने तयारी रहेको छ । गणपति कार्कीले नेपाली सेनाको मुख्यालयमा आयोजना गरिने सेना दिवसको औपचारिक कार्यक्रम दिपायल र सिलगढीमा प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारण समेत गर्ने जानकारी दिएका छन् ।





प्रतिकृया दिनुहोस्