April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह वन विज्ञानको पढाई हुने

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह वन विज्ञानको पढाई हुने भएको छ। कैलाली बुहुमुखी क्याम्पसले चालु शैक्षिक सत्रबाट स्नातक तहको चार वर्षे वन विज्ञान संकायमा पठनपाठन सुरू गर्ने भएको हो।

कैलाली बहुमुखी क्याम्पस प्रमुख प्राध्यापक डाक्टर धर्मराज उपाध्यायले सुदूरपश्चिम विश्वविद्यालयले चार वर्षे वन विज्ञान अध्ययन गर्न पाठक्रम निर्माण गरेसँगै कैलाली बहुमुखी क्याम्पसमा यो शैक्षिक सत्रबाट पठनपाठन सुरू हुने भएको बताएका हुन ।

विश्वविद्यालयले तयार गरेको वन विज्ञानको पाठ्यक्रम शिक्षा परीषद् र कार्यकारी परिषद्बाट पारित हुनासाथ कैलाली बहुमुखी क्याम्पसले प्रवेश परीक्षाका लागि सूचना निकाल्ने छ, क्याम्पस प्रमुख प्राध्यापक डाक्टर उपाध्यायले भने, ’निर्माण भएको पाठ्यक्रम विश्वविद्यालयको प्राज्ञिक परिषद् र कार्यकारी परिषद्ले पारित गरेपछि विद्यार्थी भर्ना गर्न सूचना निकाल्छौँ।’

सुदूरपश्चिम विश्वविद्यालयले वन विज्ञान संकायको पाठ्यक्रम तयार गरेसँगै प्राप्त सुझावलाई पनि समेटेर पाठ्यक्रम प्राज्ञिक परिषद् र कार्यकारी परिषदबाट पारित गरिने कृषि संकायका डीन प्राध्यापक लालप्रसाद अम्गाईले बताए ।

‘विश्वविद्यालयले कोर्ष बनाएको छ, केही परिमार्जित गरेर प्राज्ञिक परिषद् र कार्यकारी परिषदबाट केही दिनभित्र पारित हुनेछ,’ उनले भने, ’यो वर्ष ढाई सञ्चालन गर्न कति विद्यार्थी भर्ना हुन आउँछन्, प्रदेश सरकारको वन मन्त्रालयसँग पनि केही कुरामा छलफल गरेर नयाँ भर्नाको प्रक्रिया अगाडि बढ्ने छ।’

सुदूरपश्चिम विश्वविद्यालयले तयार गरेको बिएस्सी वन विज्ञान चार वर्षे शैक्षिक कार्यक्रम हुनेछ। विद्यार्थीहरूले स्नातक डिग्री हासिल गर्न आठ सेमेस्टरमा १२६ कार्य घण्टा अध्ययन गर्नुपर्नेछ। चार वर्षे पाठ्यक्रममा स्नातक तह पूरा गर्न आठ सेमेस्टरमा ४३ विषय पढ्नु पर्नेछ। वन विज्ञानको पठनपाठन कैलाली बहुमुखी क्याम्पसबाट गर्ने हिसावले तयारी थालिएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अम्मराज जोशीले बताए।

कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्विवद्यालयमा समायोजन हुँदा नै प्राविधिक धारका विषयको पठनपाठन कैलाली बहुमुखी क्याम्पसमा गराउने समझदारी भएको थियो। जुन सहमतिअनुसार यो वर्ष वन विज्ञान र क्रमशः जियोम्याट्रिक र आर्किटेक्ट इन्जिनियरिङ विषयको पढाई हुनेछ। वन विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीले विज्ञान विषय लिएर १२ कक्षा पास भएको हुनुपर्ने प्रस्ताव गरिएको छ तर यो विषयमा थप छलफल गरेर टुङ्गोमा पुग्ने बताइएको छ।