April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम बन्यो प्रधानमन्त्री कप महिला टी-२० च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रदेश- १ लाई फाइनलमा ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा शनिबार सम्पन्न फाइनलमा प्रदेश–१ लाई हराएर उपाधि जितेसँगै सुदूरपश्चिमले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता प्रदेश–१ ले तीन लाख रुपैयाँमा चित्त बुझायो ।

फाइनलमा प्रदेश–१ ले प्रस्तुत गरेको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा चार विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमको जितमा सम्झना खड्काले अविजित २७ रन बनाइन् । यस्तै, डोली भट्टले २२, कविता जोशीले अविजित १९ रन जोड्दा कविता कुँवरले १२ रन बनाइन् ।

प्रदेश–१ का सबनम राई, कप्तान रुबिना क्षेत्री, संगिता राई र हिरनमायी रोयले समान एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङमा आएको प्रदेश–१ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०१ रनको योगफल तयार पारेको थियो । प्रदेश–१ को काजल श्रेष्ठले ४८ रन बनाइन् । अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोडे ।

सुदूरपश्चिमकी मनिषा चौधरीले दुई विकेट लिँदा रितु कनोजियाले एक विकेट लिइन् । प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरी आठ टोलीको सहभागिता थियो ।