April 18, 2026, Saturday
२०८३ बैशाख ५

चितुवाको आक्रमणबाट डोटीमा ६ जना घाइते, दुईको अवस्था गम्भीर

डोटी । चितुवाको आक्रमणबाट डोटीमा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका डोटीका अनुसार पूर्वी चौकी गाउँपालिका ५ बटाला गाउँका ६ जनालाई चितुवाले आक्रमण गरि घाइते बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले चितुवाले मगंलबार अपराह्न ५ बजेको समयमा एउटै टोलका ६ जनामाथि आक्रमण गरेको बताएका हुन ।

चितुवाको आक्रमणबाट शारदादेवी बटाला, उनका ४ वर्षका छोरा सिद्ध बटाला सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षीया हसिना बटाला र किथ्थी गिरी घाइते भएका छन् । प्रहरी निरीक्षक जोशीका अनुसार घरको आँगनमा खेली रहेका उनीहरूमाथि चितुवाले आक्रमण गरेको थियो ।

४ वर्षका सिद्ध बटाला र १५ वर्षीया लाली बटालाको अवस्था केही गम्भीर भए पनि बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बालक सिद्ध बटालालाई घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेपछि बचाउन गएकी उनकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ । त्यसअघि गाउँ नजिकै रहेको जंगलमा गोठाला गएका लालि, किथ्थी, हसिना र पुस्पालाइ पनि सोही चितुवाले आक्रमण गरेको थियो । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ । चितुवाले शारदा देवी बटालाको एक बाख्रालाई समेत आक्रमण गरेको थियो ।