April 18, 2026, Saturday
२०८३ बैशाख ५

यसरी सुरू भयो ‘एसपिए कपल्लेकी भलिबल शिल्ड !’


दिपायल । धनगढीमा एसपिए कप क्रिकेटको दोस्रो संस्करण चलिरहेको थियो । जुन प्रतियोगिताले राष्ट्रिय स्तरमा उल्लेख्य चर्चा कमाउँदै थियो । नेपाली क्रिकेटलाई व्यवसायिकीकरण गर्नमा उक्त प्रतियोगिता कोशेढुंगा बन्दै थियो ।

ठिक त्यही बेला डोटी कपल्लेकीका युवा दीपकबहादुर बोगटी एसपिए कपका परिकल्पनाकार सुदूरपश्चिम एकेडेमी धनगढीका प्रबन्ध निर्देशक सुभाष शाहीको निकटस्थ थिए । शाहीको पुख्र्यौली गाउँपनि कपल्लेकीकै छिमेकी गाउँ मुडेगाउँ नै हो । शाहीसँग निकट रहेर एसपिए कपको तयारी र व्यवस्थापकीय काममा सघाउँदै गर्दा बोेगटीमा खेलकुदप्रतिको युवा क्रेज र महत्वबारे अनुभूति भयो ।

त्यसपछि बोगटीमा अर्को लालसा पलायो, आफ्नै गाउँ कपल्लेकीमा त्यस्तै प्रतियोगिता आयोजना गर्ने । ‘सोच त आयो । तर, हाम्राअघि चुनौतीका चाङ थिए । कपल्लेकी धनगढीजस्तो सुविधासम्पन्न सहर थिएन, एक सानो गाउँ न हो,’ बोगटी सम्झन्छन्,‘गाउँमा न खेलमैदान थियो, न आर्थिकस्रोत । न आगन्तुक खेलाडीहरू बस्न मिल्ने होटलबास ।’

यस्तोमा अब के गर्ने ? बोगटी सरसल्लाह गर्दैगए । सरसल्लाहका क्रममा भलिबल प्रतियोगिता गर्न सकिने निष्कर्ष निस्कियो । ‘भलिबलका लागि कपल्लेकीमा रहेको केदारेश्वर उच्च माध्यामिक विद्यालयको भलिबल कोर्ट छदैथियो, जहाँ प्रतियोगिता आयोजना गर्न मिल्नेभयो,’ बोगटीले भने,‘खेलाडी दिपायल बजारमा राख्न मिल्ने भयो । त्यहाँबाट एकडेढ घण्टामा गाडी चढेर कपल्लेकी पुग्नसकिन्छ भन्ने भयो ।’

त्यतिञ्जेलसम्म बोगटीले स्थानीय युवाहरु सम्मिलित कपल्लेकी युवा समाज निर्माण गरिसकेका थिए । यत्ती सब भइसकेपछि युवा समाजमा जोश आयो । त्यो जोशसहित परामर्शको कुरा थप अगाडि बढ्यो । ‘प्रतियोगिता त गर्ने । तर, पुरस्कार राशीसहित व्यवस्थापकीय खर्चका लागि पैसाको जरुरत थियो,’ बोगटी सम्झन्छन्,‘त्यसपछि सम्भावित स्रोतका आधारहरु खोज्नथाल्यौं ।’

यसैगरी पहिलो छलफल धनगढीको एसपिए कप क्रिकेटका परिकल्पनकार शाहीसँगै भयो । सुदूरपश्चिम एकेडेमीले मुख्य प्रायोजन गर्ने भयो । त्यसपछि प्रतियोगिताको नामाकरण भयो–एसपिए कपल्लेकी भलिबल शिल्ड !

बाँकी प्रायोजन स्थानीय स्तरबाट जुटाएर २०६८ सालमा पहिलो संस्करणको प्रतियोगिता भयो । जसमा प्रथम पुरस्कार २५ हजार राखिएको थियो । त्यसपछि त्यो प्रतियोगिता लगातार ६ संस्करणसम्म चलेको थियो । छैठौं संस्करणमा एकलाख ५० हजार प्रथम पुरस्कारको प्रतियोगितासम्म चल्यो । जुन प्रदेशस्तरीय थियो । यही प्रतियोगिताको सफल आयोजना पनि भलिबल खेलाडीहरुकाबीचमा बोगटीको लोकप्रियता पनि बढ्दै गएको थियो । यसैक्रममा जिल्ला भलिबल संघ डोटीको अध्यक्ष समेत भएका थिए ।

पछिल्लो पटक कोभिड–१९ को महामारी चलेसँगै तीनवर्ष सो प्रतियोगिता आयोजना हुन पाएन । यसवर्ष कोभिड–१९ को महामारी थामिएसँगै प्रतियोगिता आयोजना हुने भएको छ ।

एसपिए कपल्लेकी आयोजक समितिका नामबाट प्रतियोगिता आयोजना हुन लागेको प्रतियोगिताका संस्थापक बोगटीले बताए । उनी अहिले शिखर नगरपालिका–१ का वडाध्यक्ष छन् । समितिले तयारी गरिरहेको छ । बोगटीले सघाउ पु¥याइरहेका छन् ।

आयोजकका अनुसार यही मंसिर २८ गतेदेखि पुस २ गतेसम्म प्रतियोगिता चल्नेछ । अहिलेको प्रतियोगिता डोटीका नौ पालिकाका टिम सम्मिलित अन्तरपालिकास्तरीय हुने आयोजक समितिका अध्यक्ष चेतबहादुर शाही बताउँछन् । यसपटक प्रतियोगिताको प्रथम पुरस्कार राशी नगद एक लाख २५ हजार राखिएको छ भने, दोस्रोलाई ५१ हजार र तेस्रोलाई २१ हजार दिइने जनाइएको छ ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकर, डिफेन्डर, लिप्टरलाइ जनही दुई हजार पाँचसयका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यसपटकको प्रतियोगितामा पनि मुख्य प्रायोजक सुदूरपश्चिम एकेडेमी धनगढी र सहप्रायोजक केदारेश्वर मावि कपल्लेकी रहेका छन् ।
यसरी सातौं संस्करणमा आयोजना हुन लागेको यो प्रतियोगिता सुदूरपश्चिम पहाडको प्रमुख भलिबल प्रतियोगिताका रुपमा स्थापित भएको प्रतियोगिता हो । यसमा नेपालका विभिन्न ठाउँका तथा भारतसम्मका भलिबल खेलाडी आएर हिस्सा लिने गरेका छन् ।