April 18, 2026, Saturday
२०८३ बैशाख ५

कीर्तिपुरको त्यो १०१ नम्बर कोठा र वीरबहादुर बलायर

अत्तरिया : कुनै बेला सुदूरपश्चिमका विद्यार्थीहरू काठमाडौंमा उच्च शिक्षा अध्ययनका लागि जाँदा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको छात्राबासमा बस्न पाउँदैन थे । सुदूरपश्चिमका विद्यार्थीका लागि क्याम्पसको छात्राबासमा बस्न त के त्यहाँ पस्नै पाउँदैन थे । त्यही बेला सुदूरपश्चिमका विद्यार्थीलाई छात्राबास खुला गर्ने आन्दोलनमा लागेका वीरबहादुर बलायर हुन् ।

बलायर पहिले आफू कीर्तिपुरको छात्राबासको ‘ख’ विल्डिङको कोठा नम्बर १०१ मा बसे । त्यहीबाट उनले सुदूरपश्चिमका विद्यार्थीहरुलाई पनि छात्राबासमा बस्ने व्यवस्था मिलाउन आन्दोलन गरे । विद्यार्थी जिवनका अधिकांश समय उनले त्यही १०१ नम्बर कोठामै विताए । त्यहीबाट देशभरका विद्यार्थीको हकहितका लागि आवाज बुलन्द पारे । उनले त्यही कोठाबाटै २०४६ सालको जनआन्दोलनमा ‘प्लान’ बनाउँदै युवाहरुको नेतृत्व लिएर सडक तताए ।

आफूले कीर्तिपुरस्थित छात्राबासको ‘ख’ नम्बर बिल्डिङको १०१ नम्बर कोठाबाटै विद्यार्थी आन्दोलनको सुरुवात गरेको बताउँदै उनले भने,‘म त्यही कोठामा बर्षौसम्म बसेँ र त्यहीँबाट सुदूरपश्चिमका मात्रै नभई देशभरका विद्यार्थीहरुका समस्या, पीडा उजागर गरेँ । समाधान गर्न आन्दोलन पनि गरेँ ।’

विद्यार्थी राजनीति गर्दैगर्दा उनी ३ वर्ष ६ महिना बन्दी जीवन बिताएका थिए । सधैँ पार्टी भित्रै सत्य र न्यायको लागि आवाज बुलन्द गर्ने बलायर पार्टीभित्र तथा बाहिर खरो स्वभाव र जुन कुरा गर्न सकिन्छ, त्यतिमात्र बोल्ने नेताका रुपमा चिनिएका छन् । वि.सं. २०३३ सालदेखि विद्यार्थी राजनीतिमा प्रवेश गर्दै २०३६ सालको विद्यार्थी आन्दोलनम अग्रमोर्चाका कमान्डर बलायर २०४६ सालमा भएको जनआन्दोलनका निकै चर्चित विद्यार्थी नेता हुन् ।

२०४६ सालको जनआन्दोलनमा सुरक्षा समिति संयोजक समेत थिए। आन्दोलनकै क्रममा एकपटक उपल्लो दर्जाको एक जना पुलिस अफिसरले बलायरलाई सोधेका थिए–‘के तपाईंलाई आफ्नो ज्यान खतरामा छ जस्तो लाग्दैन ?’ त्यही बेला बलायरले पुलिका अफिसलाई सहजै उत्तर दिएका थिए–‘बलिदानी त हाम्रो लक्ष्य हो ।’

आन्दोलनकै क्रममा बलायरलाई तत्कालीन दरबारबाट दर्शन भेटको लागि अफर गर्दै एकजना जर्नेलले बलायरलाई भने,‘पञ्चायतको विरोध नगर, के चाहिन्छ भन ?’ जर्नेलको जवाफमा बलायरले सहजै उत्तर दिए–‘तपाईं दरबारको जर्नेल हुनुहुन्छ भने पनि सडकको जर्नेल हुँ । दरबारका जर्नेल एकदिन सडकमा आउने छन् र सडकको जर्नेललाई सलाम ठोक्नेछन् किनकी म आजीवन सडकको जर्नेल हुँ ।’

विद्यार्थीको हकहित र जनताको स्वतन्त्रताका लागि आफ्नो रगतले सडक र जेलका भित्ता रंगाएका नेता बलायर विद्यार्थी र युवामाझ अझै लोकप्रिय छन् ।