चुनावमा प्रयोग भइसकेका मतपत्र जलाउनु कति उचित ?

काठमाडौँ : चुनावमा प्रयोग भइसकेको मतपत्र के गरिन्छ ? मुद्दा लाग्ने म्याद नाघेपछि ‘धुल्याइन्छ’ । निर्वाचन आयोगले मतपत्र धुल्याउने नाममा डढाउने गर्छ । यो वर्ष स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ५ सय मेट्रिक टनभन्दा बढी कागज प्रयोग गर्यो । मुद्दा लाग्ने म्याद नाघेपछि सबै मतपत्र डढाइयो ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अहिले संघारमा छ । आयोगले ८ सय ५० मेट्रिक टन कागजात खरिद गरेर मतपत्र छापेको छ । चुनाव सकिएर मुद्दा लाग्ने अवधि हटेपछि ती मतपत्र पनि जलाउने आयोगको तयारी छ ।
सरकारी कागाजात धुल्याउने नियमहरु, २०२७लाई टेकेर अगोमा डढाउने गरिन्छ । २०७०मा उक्त नियममा भएको पहिलो संशोधनले ‘धुल्याउने’ शब्द कागजलाई ‘आगोमा डढाउने’ भनेर पनि परिभाषित गरेको छ । त्यही व्यवस्थामा टेकेर आयोगले मतपत्र डढाउँदै आएको छ ।

मतपत्र जलाउँदा वायु प्रदूषण हुने, संविधानले व्यवस्था गरेको हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको हनन् हुने भन्दै उक्त नियममा भएको व्यवस्था हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।कानुनशास्त्रका विद्यार्थीहरु ऋतिक यादव र रितेश पन्थीले निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्चमा सोमबार रिट दायर गरेका हुन् ।
नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हकको ग्यारेन्टी गरेको छ । निर्वाचन आयोगले यस वर्ष ८ करोड मत पत्र छापेको छ । चुनाव सकिएपछि मतपत्र धुल्याउने नाममा जलाउँदा प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारीको हनन् हुने भन्दै उनीहरुले मतपत्र नजलाउन माग राख्दै वैकल्पिक उपाय खोज्न भन्दै रिट दायर गरेका हुन् ।
रिटमा सरकारी कागाजात धुल्याउने नियमहरुमा गरिएको उक्त व्यवस्था असंवैधानिक भएको भन्दै त्यसलाई आमान्य र बदर गर्न माग गरिएको छ । सर्वोच्चले मंगलबार रिटमाथिको पेशी तोकेको छ ।
यादव र पन्थीले दायर गरेको रिटमा सहयोग गरेका अधिवक्ता सुजन पन्तले भने, ‘निर्वाचन आयोगले ८ करोड थान मतपत्र छापेको छ । निर्वाचन सम्पन्न भएपछि ती सबै मतपत्र धुल्याउने नाममा जलाइन्छन् । यसरी वायु प्रदषण हुन्छ । यसको विकल्पमा कागजलाई पुन: प्रयोग गर्न सकिन्छ । ’ यस्तै नियममा भएको शब्दावली पनि हटाउन माग गरिएको उनले बताए ।
कागजात धुल्याउने नाममा आयोगले धेरै क्विन्टल मतपत्रलाई आगो लगाउने गरेको छ ।चुनावमा प्रयोग भइसकेका मतपत्र भने सुरक्षा घेरभित्र रखेर जनक शिक्षाका प्रतिनिधि, नेपाली सेना र निर्वाचन आयोगको प्रतिनिधि भएर कागाजात धुल्याउने नाममा डढाउँदै आएका छन् ।
निवेदक रितेश पन्थी त्यही व्यवस्थामा टेकेर आगो लगाउँदा आयोगलाई कानुनद्वारा वर्जित वायु प्रदूषण गर्ने वैधानिक आधार प्राप्त गरेको र वातावरणीय न्याय विपरीतको अभ्यास भएको बताए ।
चुनावमा प्रयोग भएका मतपत्रहरु धुल्याउने नाममा जलाउनु पर्यावरणीय दृष्टिकोणबाट पनि उचित देखिँदैन । नेपालको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा २ मा कसैले पनि जनजीवन र जनस्वास्थ्य एवं वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने गरी प्रदूषण गर्न रोक लगाउँदै सजायको व्यवस्था गरेको छ । मतपत्र जलाउने कार्य नेपालले विश्वसामु गरेका प्रतिबद्धताको समेत विपरीत भएको उल्लेख गरे ।
मतपत्रलाई जलाउनुको सट्टा अन्य विविध विकल्पमा प्रयोग गर्न सकिन्छ । बेलायत, न्यूजिलेन्डजस्ता देशले प्रयोग भइसकेका मतपत्रलाई ‘स्रेडिङ’ गरेर कागजको थाक बनाएर पुन:प्रयोग गर्ने गर्छन् । यस्तै, अस्ट्रेलियामा मतपत्रलाई रिसकाइल, जापानमा प्लास्टिक पेलेट बनाएर पुन:प्रयोग गर्ने गरिन्छ । भारतको उत्तर प्रदेशको प्रादेशिक निर्वाचनमा सन् २०१९मा प्रयोग भएका करिब २ सय ८६ मेट्रिक टन कागजलाई पुन: प्रयोग गरेको थियो । पन्थीले कान्तिपुरसित भने,‘जलाउनुको विकल्पमा अन्य उपायहरु पनि अवलम्बन गर्न सकिन्छ भन्ने विभिन्न उदाहरणहरुबाट देखिन्छ । नेपालमा पनि प्रयोग भएका मतपत्रलाई पुन:प्रयोग गर्न सकिन्छ ।’
नेपालको सवालमा भने राष्ट्र बैंकले पुराना र थोत्रा नोट जलाउनुको सट्टा इन्धनको रुपमा ब्रिकेट बनाउन थालेको छ । एसईई, कक्षा ११ र १२ मा प्रयोग भएका उत्तर पुस्तिकाहरु ६ महिनासम्म राखेर पुन:प्रयोगका लागि टेन्डर गरिन्छ । राष्ट्रिय बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले कान्तिपुरसित भने, ‘ उत्तर पुस्तिकाहरु हामील ६ महिनासम्म राखेर टेन्डर आह्वान गर्छौं । धेरै रकम कबोल गर्नेलाई पुन:प्रयोग गर्ने सर्तमा दिन्छौं ।’ यस्तै, त्रिविलयातका अन्य शैक्षिक संस्थाहरुले पनि प्रयोग भएका उत्तर पुस्तिकाहरु पुन:प्रयोग गर्ने गर्छन् ।
निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि करिब ८ सय ५० मेट्रिक टन कागजात खरिद भएको छ । यस्तै, गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका लागि ५ सय मेट्रिक टन कागाजत खरिद गरेको जानकारी दिए ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म निर्वाचनमा प्रयोग भएका मतपत्र जलाउँदै आएको र पुन:प्रयोग गर्ने सवालमा कुनै निर्णय नभएको बताए ।
उनले भने, ‘आयोगले मतपत्र जथभावी गर्न मिल्दैन । त्यहाँ मतदान अधिकृतको सही हुन्छ, चिन्ह हुन्छ । संवेदनशील विषय भएकाले आयोगले अहिलेसम्म मुद्दा लाग्ने म्याद सकिएपछि जलाउँदै आएको छ । ’कान्तिपुर दैनिकबाट





प्रतिकृया दिनुहोस्