April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा तालावन्दी, उपमहानगरपालिकाले विद्यार्थीको भविष्यमाथि खेलवाडको आरोप

धनगढी : धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा आईतबार विद्यार्थीहरुले तालावन्दी गरेका छन् । धनगढी उपमहानगरपालिका र इन्ष्टिच्यूट प्रशासनले आफ्ना माग पुरा नगरेको भन्दै तालावन्दी गरेका हुन ।

धनगढी उप–महानगरपालिकाले प्राविधिक शिक्षा तथा ब्यावसायीक तालिम केन्द्र संगको साझेदारीमा संचालन गरेको प्राविधिक कलेज ( धनगढी पोलिटेक्निक इन्ष्टिच्यूट ) मा आईतबार विद्यार्थीहरुले तालावन्दी गरेको इन्ष्टिच्यूटका निर्देशक सुर्यबहादुर कार्किले बताएका हुन् ।

विद्यार्थीहरुले आफ्नो भविष्य माथी खेलवाड गरेको आरोप लगाएका छन् । धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा रहेको विद्यार्थी यूनियनले यस अघि साउन २४ गते मागहरु स्मरण हुने गरि इन्ष्टिच्यूट प्रशासनलाई ज्ञापनपत्र बुझाएको विद्यार्थी लोकराज ओझाले बताए । उनले भने, धनगढी उपमहानगरपालिकाले प्राविधिक शिक्षालयमा आधारभूत प्रयोगात्मक अभ्यास गर्ने प्रयोगशाला पनि छैन , हाम्रो भविष्य माथी खेलवाड गरिरहेको छ । इन्ष्टिच्यूट लथालिंग पारेको छ ।

कलेज उप–महानगरपालिको वडा नं ६ जालीमा रहेको छ । यहाँ महानगरपालिकाले सामान्य प्रयोगशाला समेत निर्माण नगरिदिदा विद्यार्थी प्रयोगात्मक अभ्यास गर्नबाट बन्चीत छन् । सामान्य प्रयोगात्मक अभ्यासका लागि समेत बजार र अरु विद्यालयका प्रयोगशाला धाउनुपर्ने अबस्था छ । विद्यार्थी यूनियनले यस बिषयमा पटक पटक इन्ष्टिच्यूट प्रशासनको ध्यान आकर्षण गराएको विद्यार्थीले बताएका छन् । यहाँ होटल अटोमोवाईल इन्जिनियरिङ्ग र होटल म्यानेजमेन्ट डिप्लोमाका गरि १ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत रहेका छन् ।

कार्यविधि अनुसार इन्ष्टिच्यूट संचालक समितिका अध्यक्ष नगरप्रमुख हुने ब्यबस्था छ । नगरप्रमुख गोपाल हमाल सोमबार इन्ष्टिच्यूटमा पदभार ग्रहणका लागि आएको भएपनि विद्यार्थीको गुनासो नसुनेको आरोप छ । निर्वाचित भएको तीन महिना पछि पदभार ग्रहण गरेका हमालले अहिले सम्म संचालक समितिको बैठक समेत राखेका छैनन् । संचालक समितिमा नगर प्रमुख नै अध्यक्ष रहने, सदस्यहरुमा उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा महाशाखा प्रमुख लगायत ११ जनाको समिति रहेको कार्यविधिमा उल्लेख छ ।

इन्ष्टिच्यूटको पठनपाठन बाशुदेवी माध्यमिक विद्यालयको एउटा भवनमा भैरहेको छ । आफ्नो पठनपाठन गराउने भवन छैन । उपलब्ध भवनमा पनि आवश्यकता अनुसार बत्ति र पंखा छैनन् । विद्यार्थीहरुले मागपत्रमा उल्लेख गरे अनुसार खानेपानी, आवश्यक पर्ने प्रयोगशाला, क्यान्टीन, सौचालय, निर्देशिका अनुसार पूर्ण कालिन र बिषयगत प्रशिक्षक छैनन् । अटोमोवाईल र होटल म्यानेजमेन्ट तर्फ गरि १० वटा ल्याव आवश्यक पर्ने प्रशिक्षकहरु बताउँछन् । प्राविधिक शिक्षा तथा ब्यावसायीक तालिम परिषदले दिएको अनुदान रकम बाट होटल र अटो मोवाईल तर्फको केहि ल्याव सामाग्री खरिद गरेको भएपनि चाहिने थप उपकरण नहुदा त्यसलाई प्रयोग गर्ने अवस्था नरहेको प्रशिक्षकहरु बताउँछन् ।

इन्ष्टिच्यूटमा खानेपानी नहुदा जर्किनमा बोकेर विद्यार्थीहरुलाई खुवाउनु परेको गुनासो कार्यालय सहयोगि गणेश चौधरीको छ । विद्यार्थीहरु खाजा खान र सौच गर्न घर जानुपर्ने अवस्था रहेको बताउँछन् । इन्ष्टिच्यूटका पूर्व निर्देशक टेकेन्द्र देउवाले गोपाल हमाल मेयरका निर्वाचित भएर आउने बित्तिकै कलेजको अवस्थाका बारेमा विर्फिङ गरेको बताए । उनले भने, ‘ पदभार ग्रहण र संचालक समितिको बैठकका लागि अनुरोध गर्दा पनि समय मिलाउनु भएन ।” विद्यार्थीहरुले २०६९ असार २८ गते मा पनि बिभिन्न माग राखेर निवेदन दिएको हो देउवाले भने, मैले त्यो निवेदन नगरप्रमुखका सल्लाहकार कृपाराम उपाध्याय मार्फत नगरप्रमुखलाई बुझाएको हो ।” नगरप्रमुख हमालले आफु हुदा एक दिन आफ्नो सल्लाहकार उपाध्ययलाई इन्ष्टिच्यूट घाटामा छ बुझेर आउ भनेर पठाएको देउवाले बताए । ‘ उनले भने उपाध्ययले सबैभन्दा पहिले कार्यविधी संशोधनको कुरा उठाए । कार्यविधीमा संस्थापक अध्यक्ष पदेन सदस्य हुने कुराले नगर प्रमुख हमाल इरिटेड भएका हुनसक्छन् जस अनुसार निवर्तमान मेयर नृपबहादुर वड संचालक समिति सदस्य हुन्छन् ।

सल्लाहकार उपाध्यायलाई उद्धीत गर्दै देउवाले भने, नगर प्रमुखले इन्ष्टिच्यूट घाटामा छ भन्ने सुन्नु भएको रहेछ त्यसैले म बुझ्न आएको हुँ भन्नुभयो वहाँले यसलाई दोकान सोच्नुभएको रहेछ । इन्ष्टिच्यूटलाई राम्रो बनाउनुभन्दा पनि उप–महानगरपालिका प्रशासन कार्यविधी विपरित गएर काम गरिरहेको आरोप देउवाको छ । संचालक समितिको बैठक सम्म नराखेर कार्यविधी लत्याउदै उप–महानगरपालिकाको प्रशासनले काम गर्दा इन्ष्टिच्यूट लथालिंग भएको हो ।

प्रयोगशाला नभएपनि बाशुदेवी मावि संग सम्झौता गरेर कम्यूटर र विज्ञान प्रयोगशाला प्रयोग गर्ने ब्यबस्था गरेको, अटो र होटल म्यानेजमेन्टको प्रयोगात्मक अभ्यासका लागि अटोमोवाईल डिलर्स एसोसिएसन सुदूरपश्चिम समिति र होटल ब्यावसायी संघ कैलाली संग सम्झौता गरेर प्रयोगात्मक अभ्यास गर्ने गरेको देउवाले बताए । उनले भने,‘ सिटिईभिटीबाट प्रस्ताव पेश गरेर प्राप्त गरेको अनुदान रकमबाट केहि भएपनि ल्याव सामाग्री र उपकरण खरिद मेरो कार्यकालमा गरिएको छ ।” यस अघि जेनतेन प्रयोगात्मक अभ्यासको ब्यबस्था गरेको भएपनि माथिल्लो सेमेस्टरमा जादै गर्दा थप ल्याव पनि आवश्यक पर्ने देउवाले बताए ।

मेयर साहेवले इन्ष्टिच्यूट घटा र फाईदाको कुरा गर्नु भएछ नफा घाटा हुनलाई यो दोकान होईन पूर्व निर्देशक देउवाले भने,‘ नगरक्षेत्रका विद्यार्थीहरुलाई बजार मागको आधारमा सस्तोमा प्राविधिक शिक्षा दिने ड्रिम प्रोजेक्ट हो ।” इन्ष्टिच्यूटका निर्देशक सूर्यबहादुर कार्किलेले बिभिन्न माग सहित इन्ष्टिच्यूट प्रशासनलाई साउन २४ गते मागपत्र बुझाएको बताए । आज तालावन्दी गरियो । यस बिषयमा मेयरसाफलाई जानकारी गराएका छौं । विद्यार्थीहरु संग छलफल गरेर तालाबन्दी खोल्ने प्रयास गर्ने छौं ।

इन्ष्टिच्यूट श्रोतका अनुसार अहिले सम्म उप–महानगरपालिकाबाट दुईपटक गरि ३० लाख मात्रै अनुदान रकम उपलब्ध गराईएको छ । गत आर्थिक बर्षमा बाशुदेवी मावि संग सम्झौता गरेको जग्गामा ४ कोठाको भवन निर्माण भएको छ । सोही ठाउँमा एक वटा थप भवनका लागि गत आर्थिक बर्षकै निर्णय अनुसार बजेट परेको छ । विद्यार्थीहरुले प्रयोगशालाको माग गरिरहदा चालु आर्थिक बर्षमा इन्टिच्यूट संचालन ब्यबस्थापनका लागि बजेट छुट्टाईएको छैन ।

उता प्राविधिक शिक्षा तथा ब्यावसायीक तालिम केन्द्रले पाठ्यक्रम अनुसार पूर्णकालिक प्रशिक्षक नियुक्त गर्न र न्यूनतम प्रयोगात्मक सामाग्रीको ब्यबस्थापन गर्न पत्राचार गरिसकेको छ । सिकाईको न्यूनतम पूर्वाधार ब्यबस्थापन नभएमा सञ्चालन स्वीकृती समेत रद्ध गर्ने जानकारी पत्रमा गरिएको छ ।