सरकारलाई सांसदको प्रश्न : भारतबाट दुईपटक इन्धनको मूल्य घटेर आउँदा नेपालमा किन नघटेको ?

काठमाडौं : सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतबाट पनि पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको तर नेपालमा मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानार्षण गराएका हुन् ।
बैठकमा सांसद दिलकुमारी रावल थापाले वर्तमान सरकारले जनताका समस्याप्रति कम चासो दिएको आरोप लगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् । अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा र घट्दा सोही अनुसार समायोजन हुनुपर्नेमा हाल दुई÷दुई पटक मूल्य घटेको तर नेपाल आयल निगमले किन मूल्य नघटाएको भन्दै उनले प्रश्न गरिन् ।
सांसद दीपा गुरुङले राज्यले युवालाई सही दिशा दिननसके युवावर्ग विकृतिको शिकार हुनसक्ने बताउँदै खेलकुद मन्त्रालयको बजेट कम भएको टिप्पणी गरिन् । खेलकुद विकास र समृद्धिको परिचायक भएको बताउँदै उनले सरकारले खेलाडीलाई सम्मान गर्ने गरी हौसला बढाउने कार्य गर्नुपर्नेमा जोड दिइन् ।
सांसद खिमलाल देवकोटाले सुशासनका लागि पारदर्शीता आवश्यक रहेकामा जोड दिँदै सबै मन्त्रीका काम जनताले हेर्न पाउने गरी सीसीटीभीको व्यवस्था गर्नुपर्ने बताए । उनले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कानुनअनुसार कारबाही गर्नुपर्ने धारणा राखे ।
सांसद गोमादेवी तिमिल्सिनाले देशको राजधानीमै फोहाेरको समस्या बढेको, ढल फुटेर दुर्गन्ध बढेको, बाटोका खाल्डामा पानी भरिएर हिँड्न गारो भएको बताउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गाराइन् ।
सांसद भुवनबहादुर सुनारले नागरिकता दिने क्रममा विभिन्न स्थानमा केही व्यक्तिका नाम अपमान हुने गरी उल्लेख भएको सन्दर्भमा ध्यानाकर्षण गराउँदै यस्ता लापरबाही गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरे ।
सांसद सुमित्रा विसीले महँगी बढेर जनतालाई थप दुःख भएको उल्लेख गर्दै सरकारले अनुगमनमा कडाई गरी नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् । उनले मुगु जाने सहुलियतको नुन बाटोमा हराएको सम्बन्धमा सरकारसँग स्पष्ट जानकारी माग गरिन् । रासस





प्रतिकृया दिनुहोस्