April 19, 2026, Sunday
२०८३ बैशाख ६

छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएपछी अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् ।

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएपछि राजीनामा दिएका हुन । शर्माले छानविन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।

‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भने, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’

राजीनामा दिएपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘मैले कुनै गल्ती गरेको छैन। कमीकमजोरी गरेको छैन। यसबारे प्रश्न उठेपछि सत्यतथ्य छानबिन होस् भनेर राजीनामा दिएको हुँ।’

शर्माले आजै संसदमा बोल्दै आधिकारिक व्यक्तिहरूबाट बजेट बनाइएको बताएका थिए। उनले सिसीटिभी फुटेज आफूले डिलिट नगरेको पनि बताएका छन् ।

शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

अर्थमन्त्री शर्मामाथि विदेशबाट अवैध ढंगले आएको रकम खुला गरिदिन अनधिकृत निर्देशन दिएको र उक्त निर्देशन अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको समेत आरोप लागेको छ ।

आजै एमालेको माग बमोजिम अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको थियो । संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् । समितिलाई १० दिनको समय दिइएको छ । 

भरतमोहन र विष्णु पौडेलले दिएका थिएनन् राजीनामा

छानबिन समिति बनेपछि अर्थमन्त्री शर्माले राजीनामा दिए । तर  विगतमा एमालेबाट मन्त्री बनेकाहरूले भने विवादमा पर्दा राजीनामा दिएका थिएनन् ।

अर्थमन्त्री हुँदा विवादमा परेपछि भरतमोहन र विष्णु पौडेलमाथि संसदीय समितिले छानबिन गरेको थियो । झलनाथ खनाल प्रधानमन्त्री भएका बेला २०६८ सालमा अर्थमन्त्री अधिकारी थिए। त्यतिबेला बजेट लिक भएको विषय संसदमा विरोध भएपछि संसदीय छानबिन समिति बनेको थियो । छानबिन समिति बनेपछि उनले राजीनामा दिएनन् । 

यस्तै २०७३ मा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पौडेल अर्थमन्त्री थिए। पौडेल अर्थमन्त्री भएका बेला पनि बजेट पनि बजेट लिक हुँदा संसदीय छानबिन समिति बनेको थियो।