April 18, 2026, Saturday
२०८३ बैशाख ५

चट्याङ लागेर खेतमा काम गरिरहेका दुई किसानको मृत्यु

महेन्द्रनगर : आज बिहानै खेतमा काम गरिरहेका बेला परेको चट्याङबाट कञ्चनपुरका दुईजना किसानको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाका दुई फरक ठाउँमा परेको चट्याङ लागेर दुई किसानको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० बर्षीया देवेन्द्र श्रेष्ठ र वडा नम्बर–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुबैजना आआफ्नै खेतमा काम गर्दै थिए । दुबै फरक घटना हुन । प्रकृति भने एउटै छ । ‘देवेन्द्र श्रेष्ठ आफ्नो खेतमा मेड(आली) लगाइराख्नुभएको रहेछ,’ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले भने,‘त्यहीँ क्रममा परेको चट्याङले घटनास्थलमै उहाँको ज्यान गएको देखिन्छ ।’

यस्तै थापाको पनि सोही प्रकृतिको घटना छ । उनी बिहानै खेतमा पुगेर धान रोप्नका लागि तयारी गर्दैथिइन । सोही क्रममा परेको चट्याङले उनको घटनास्थलमै ज्यान लिएको इन्सपेक्टर मल्लले जानकारी दिए । उनीसँग खेतमा रहेका एक घाइते भएका छन् ।