April 18, 2026, Saturday
२०८३ बैशाख ५

यसै वर्षबाट सुदूरपश्चिम विश्वविद्यालयमा चिकित्सा संकायको अध्यापन सुरु हुने- प्रधानमन्त्री देउवा

कञ्चनपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा यसै वर्षबाट चिकित्सा संकायको अध्यापन सुरु हुने बताएका छन् । शुक्रबार दोस्रो दीक्षान्त समारोहमा सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले यसै वर्षबाट चिकित्सा संकायको अध्यापन सुरु हुने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले यसै वर्षदेखि विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेजको स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाइने बताए । उनले भने, ‘नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ ।’

विश्वविद्यालयले सुदूरपश्चिमका निम्न र मध्य आय भएका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गरेको बताउदै देउवाले गुणस्तरीय जनशक्ति उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

प्रधानमन्त्री देउवाले आउँदा दिनमा सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक र व्यवस्थापकीय पक्षमा अझ सुधार हुने विश्वास व्यक्त गरे । ‘विश्वविद्यालय समयअनुसार शैक्षिक र व्यवस्थापकीय सुधार हुन आवश्यक छ,’ उनले भने, ‘आउदा केही वर्षमा मुलुककै उत्कृष्ट संस्था बन्नेमा आशावादी छु।’

दीक्षान्त समारोहमा दिक्षित हुने एक हजार १८ विद्यार्थीमध्ये ३१८ जना सहभागी भएका थिए । स्नातकोत्तर तहमा कुलपति पदक ४ जना, स्नातक तहमा उप कुलपति पदक ८ जना सहित स्नातक र स्नातकोत्तर तहगरी ५८ जना गोल्ड मेडल पाएका छन ।