April 19, 2026, Sunday
२०८३ बैशाख ७

सातवटै प्रदेश सरकारले ल्यायो आगामी आर्थिक बर्षका लागी बजेट, कुन प्रदेशमा कति वजेट प्रस्तुत भयो ?

धागढी : सातवटै प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागी बजेट प्रस्तुत गरेका छन । बुधवार प्रदेशसभा बैठकमा सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट प्रस्तुत गरेका हुन ।

यस्तो छ सात वटै प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्ष २०७९/८० को बजेट

प्रदेश १ सरकारले ल्यायो आगामी आर्थिक बर्षका लागी कुल ३९ अर्ब, ७३ करोड बजेट

प्रदेश १ सरकारले कुल ३९ अर्ब, ७३ करोड, ८३ लाखको बजेट ल्याएको छ । बुधवार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट पेस गरेका हुन् ।

प्रदेश १ सरकारले शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकतामा राखेर बजेट पेस गरेको हो । बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्ता २ अर्ब रहेको छ ।

आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने मन्त्री आङ्बोले बजेटमा उल्लेख गरे ।

चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख विनियोजन भएको थियो । प्रदेश सरकारले निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विगतमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूका लागि फरक फरक व्यवस्था भए पनि आगामी आर्थिक वर्षका लागि समान रकम विनियोजन गरिएको छ ।

मधेश प्रदेश सरकारले ल्यायो आगामी आर्थिक बर्षका लागी ६ अर्ब ८८ करोड बजेट

मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गरेका हुन् ।

चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको अर्थमन्त्री साहले जानकारी दिएका छन् ।

यस्तै, वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

बागमती प्रदेश सरकारले ल्यायो ७० अर्ब ९३ करोडको बजेट

बागमती प्रदेश सरकारले अहिलेसम्म सार्वजनिक भएको प्रदेश सरकारको बजेट मात्रै सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले नयाँ बजेट प्रस्तुत गरेका हुन् । चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेट, पूँजीगत ४१ अर्ब ५६ करोड २४ लाख बजेट छुट्टाइएको छ ।

भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट र वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट व्यवस्थापन गरिएको हो । चालू आवमा सो प्रदेश सरकारले ५७ अर्ब ७२ करोडको बजेट ल्याएको थियो । चालू आवको भन्दा १३ अर्ब धेरैको नयाँ बजेट ल्याएको हो ।

यसैबीच वागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडालाई सुविधा सम्पन्न गराउन १ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ ।

बजेटमा प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत हेटौंडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरु र हेटौंडा चक्रपथ निर्माण गर्न १ अर्ब ५ करोड ८० लाख बजेट विनियोजन गरिएको अर्थमन्त्रीले योजना अघि सारेका छन् ।

गण्डकी प्रदेशले ल्यायो ३५ अर्ब ९० करोडको बजेट

गण्डकी प्रदेश सरकारले झण्डै ३६ अर्ब रुपैयाँको आयव्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

अनुमानित बजेटअनुसार आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ । यसैगरी सो बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण हुनेछ । कुल बजेटमध्ये ८८ करोड २५ लाख रुपैयाँ प्रदेशलाई व्ययभार पर्ने अनुमान गरिएको छ ।

कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक बर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् ।

जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९।५८ प्रतिशत रहेको छ भने चालु तर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८।११ प्रतिशत बजेट रहेको छ । यस्तै स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ रु ४ अर्ब १ करोड ५७ लाख २९ हजार अर्थात १२।३१ प्रतिशत बजेट विनियोजन गरिएको विष्टले जानकारी गराए ।

सरकारले चालु आर्थिक बर्षमा रु। ३६ अर्ब ७४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट विनियोजन गरिएको थियो । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख ७४ हजार, चालु आर्थिक बर्षको खर्च नभएर बाँकी रहन जाने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम रु ९ अर्ब २ करोड २० लाख , वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु १० अर्ब ७२ करोड ६४ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख रकम परिचालन गरिनेछ ।

प्रदेश गौरवको आयोजना प्रदेश रंगशाला निर्माणका लागि ६० करोड बजेट विनियोजन गरेको छ भने विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेका ठाउँमा वैकल्पिक उर्जा मार्फत विद्युतीकरण गर्न कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत १० करोड बजेटको व्यवस्थापन गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ । प्रदेश सरकारका अर्थमन्त्री प्रकाशबहादुर रावलले आज प्रदेशसभा बैठकमा ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक बर्ष २०७९/०८० का लागि चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६४ हजार रुपैया अर्थात् विनियोजन बजेटको ३३.४६ प्रतिशत छुट्याएको छ भने, पुँजीगत तर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ अर्थात् ६५.७४ प्रतिशत छुट्याएको छ ।

यस्तै अन्तर सरकारी वित्त हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४० लाख अर्थात् ३.७१ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ३० करोड अर्थात् ०.८ प्रतिशत छुट्याएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट २ अर्ब, चालु आर्थिक बर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब ६० करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब २० करोड, सशर्त अनुदानबाट ६ अर्ब र संघीय रोयल्टीबाट ४ करोड २८ लाख रकम परिचालन गरिने मन्त्री रावलले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले ल्यायो बजेट ४२ अर्ब ६३ करोड 

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९र०८० को लागि ४२ अर्ब बढीको बजेट ल्याएको छ। लुम्बिनी प्रदेश सरकारका आर्थमन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६२ करोड ४७ लाख ७२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।

मन्त्री खड्काले कुल विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ (३१.२६ प्रतिशत) र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ (५७.४१ प्रतिशत) रहने अनुमान गरेको उल्लेख गरे।

बजेटमा वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, ससर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब  ८३ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा सञ्‍चालन हुने कार्यक्रमका लागि खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ३ अर्ब १० करोड ५९ लाख,  संघ र स्थानीय सरकारबाट प्राप्‍त हुने राजश्व बाँडफाँटबाट १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँटबाट ७० करोड रुपैयाँ प्राप्‍त हुने अनुमान गरिएको छ ।

त्यसैगरी संघीय सरकारबाट प्राप्‍त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५४ करोड १७ लाख, ससर्त अनुदानबाट ८ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबाट ७३ करोड ९० लाख, विशेष अनुदानबाट ४८ करोड ३५ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट ४ अर्ब रहने र आन्तरिक ऋणबाट १ अर्ब  रुपैयाँ परिचालन हुने अनुमान गरेको आर्थिक मामिला सहकारी मन्त्री खड्काले जनाकारि दिए ।