April 19, 2026, Sunday
२०८३ बैशाख ६

सदनमा अर्थमन्त्री शर्मा बजेट प्रस्तुत गर्दै : चालु आर्थिक वर्षमा १४ खर्ब ४७ अर्ब ६१ करोड बजेट खर्च हुने

काठमाडौं : संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुतगरी रहेका छन् । आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षमा १४ खर्ब ४७ अर्ब ६१ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको बताएका छन् ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०७९/८० को आय र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कुल विनियोजित बजेटको ८८.६ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताएका हुन् ।

जसमध्ये  चालु खर्चतर्फ ९ खर्ब ७१ अर्ब  ८६ करोड अथात् ९१.२ प्रतिशत, पूँजीगत खर्चतर्फ ३ खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात्  ९२.७ प्रतिशत खर्च हुने नले बताए ।    

उक्त  व्ययको लागि  राजश्व ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान रहेको उनले बताए । वैदेशिक सहायताबाट अनुदान २४ अर्ब १ करोड, ऋण १ खर्ब ७२ अर्ब ८ करोड स्रोत व्यवस्थापन हुने संशाेधित अनुमान रहेको उनले बताए । 

यस्तै, वैशाख मसान्तसमम १ खर्ब ३५ अर्ब आन्तरिक ऋण उठेको र २ खर्ब ३१ अर्ब  ३० करोड परिचालन हुने अवस्था रहेकाे उनले बताए ।

धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने 

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले सरकारले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिएका हुन ।

यस्तै, उनले निर्यात दोब्बर गर्ने र आयात २० प्रतिशतले घटाउने पनि बजेटको उद्देश्य रहेको बताए । पाँच वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने उद्देश्य सरकारको छ । यस्तै, उनले रोजगारी ३० प्रतिशतले बढाउने पनि बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्ब ९० करोड विनियोजन 

सरकारले कृषि क्षेत्रमा ५५ अर्व ९७ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

यस्तै, कृषिको रूपान्तरण अभियानमा काम गर्ने प्रदेशलाई पाँच करोडका दरले प्रोत्साहन रकम उपलब्ध गराउने तथा आत्मनिरर्भरताका लागि कृषि उत्पादन कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

उनले कृषि विमा विस्तार गर्ने , कृषि संकलन केन्द्र निर्माण गर्ने तथा कृषि एम्वुलेन्सको व्यवस्थापन गर्ने जानकारी दिए । यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्व ९० करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए । 

उखु किसानलाई सहुलियत उपलब्ध ८१ करोड रकम विनियोजन गरिएको पनि उनले जानकारी दिए । नेपाललाई चिनीमा आत्मानिर्भर बनाउने पनि उनले बताए ।

प्रदेश र स्थानीय तहले पाउने बजेट बढाइयो 

सरकारले आउँदो आर्थिक वर्ष प्रदेश र स्थानीय तहले विभिन्न शीर्षकमा पाउने बजेट बढाएको छ । आर्थिक वर्ष २०७९र८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई एक खर्ब २३ करोड वित्तीय हस्तान्तरण गरिने बताए ।

यस्तै, सःशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई एक खर्ब ७६ करोड, समपुरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई सात अर्ब २७ करोड, विशेष अनुदानतर्फ प्रदेशलाई चार अर्ब ५६ करोड र स्थानीय तहलाई नौ अर्ब १४ करोड दिइने उनले बताए ।

मन्त्री शर्माले राजस्वबाट स्थानीय तह र प्रदेशलाई एक खर्ब ६३ अर्ब रुपैयाँ हस्तान्तरण हुने अनुमान गरिएको बताए ।

किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने

अर्थमन्त्री जनार्दन शर्माले किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने बताएका छन् । उक्त कोषमा किसानले हरेक महिना जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गर्ने बताए ।

किसान हुनुमा आत्मसम्मान गर्न उक्त कोष स्थापना गर्ने उनले बताए । सुरुवातमा बीउपुँजीबापत एक अर्ब रुपैयाँ छुट्ट्याइएको मन्त्री शर्माले बताए ।

देशभर १०० खाद्य गोदाम बनाउन ४५ करोड रुपैयाँ विनियोजन 

देशभर सरकारले एक सय खाद्य गोदाम बनाउने भएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले त्यसका लागि ४५ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

कृषि कर्जाको लागि ५ खर्बको लघुवित्त कोष स्थापना गर्ने सरकारको घोषणा

सरकारले कृषि कर्जाको लागि ५ खर्बको लघुवित्त कोष स्थापना गर्ने घोषणा गरेको छ ।कोषमा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग र कृषिमा लगानी गर्नुपर्ने रकम कोषमा लगानी गर्नुपर्ने सरकारले घोषणा गरेको हो ।

अर्थमन्त्री शर्माले उक्त कोषमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषबाट समेत रकम लगानी गर्ने गरिने र यसबाट कृषि उत्पादनका लागि लगानी वित्तीय पहुँच अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा लिएको बताए ।

यस्तै, ग्रामीण विकास लघुवित्तको पुनःसंरचना गरी पूँजी संरचना र संस्थागत क्षमताअभिवृद्धि गरी उक्त संस्थामा गाउँपालिका र नगरपालिकाले ५० लाख र १ करोडसम्म सेयर लगानी गर्न सक्ने बताइएको छ ।

मल खरिदमा अनुदानका लागि १५ अर्ब बजेट 

सरकारले मल खरिदमा अनुदानका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले आउँदो आर्थिक वर्षको सुरुवातबाट नै मल खरिदका लागि उक्त रकम विनियोजन गरिएको बताएका छन् ।

सरकारी र सार्वजनिक क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग नीति लागु गरिने

सरकारले आउँदा दिनमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागु गर्ने भएको छ । सरकारले स्वदेशी उत्पादन प्रवर्द्धन नीतिअन्तर्गत यस्तो नीति ल्याएको हो ।

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि सरकारी र सार्वजनिक क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागु गरेको हो ।

अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन

अल्लो, सुपारीको पात, अल्लोको कपडा उत्पादन गर्नेलाई सरकारले प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने बताए ।

यस्तै, कपासको खेती गर्नेलाई पनि बियाँ छान्ने मेसिनमा प्रोत्साहन गरिनेछ ।

२०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने 

सरकारले आर्थिक वर्ष २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले कृषिबाली बिमाको प्रिमियममा ८० प्रतिशत अनुदानका लागि ७६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

सरकारले औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड बजेट विनियोजन गरेको छ ।  विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणका लागि ३ अर्ब ७९ करोड रकम विनियोजन गरेको शर्माले बताए । 

चितवनको शक्तिघोरमा औद्योगिक क्षेत्र निर्माण, दमक, मोतीपुरलगायत ४ स्थानमा औद्योगिक पूर्वाधार बनाइने उनले बताए ।

सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

सरकारले सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । आइतबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी प्रशाेधन केन्द्र सञ्चालनमा प्राथमिकता दिने पनि उनले बताए ।

उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट 

सरकारले उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ ।आइतबार संसद् बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिए ।

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुननिर्माणका लागि २ अर्ब छुट्याइयो 

सरकारले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने भएको छ । त्यसका लागि २ अर्ब विनियोजन गरिएको आगामी अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गा कारोबार

सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्ने भएको छ । आउँदो आर्थिक वर्षदेखि आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गाको कारोबार गर्न पाइने व्यवस्था गर्ने भएको हो ।

कोभिडबाट प्रभावित व्यावसायलाई इजाजत र नवीकरण दस्तुर छुट

सरकारले कोभिडबाट प्रभावित व्यावसायलाई इजजात र नवीकरण दस्तुर छुट दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले कोभिडबाट प्रभावित व्यावसायलाई इजजात र नवीकरण दस्तुर छुट दिने बताएका हुन् ।

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्बभन्दा बढी छुट्याइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

विदेशी लगानीको प्रारम्भिक स्वीकृती ७ दिन भित्र हुने 

विदेशी लगानीको प्रारम्भि स्वीकृति ७ दिनभित्र गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पूर्व तयारीका काम सम्पन्न गर्ने गरी ७ दिनभित्र प्रारम्भिक स्वीकृित ७ दिनभित्र र पूर्व स्वीकृती ६ महिनाभित्र दिने व्यवस्था गरिने घोषणा गरे ।

सगरमाथा क्षेत्रसम्म जाने बाटो सुधार गरिने

 सरकारले सगरमाथा क्षेत्रसम्म जाने बाटो सुधार गर्ने घोषणा गरेको छ ।आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

सरकारले २ घण्टामा सगरमाथा क्षेत्र अवलोकन गर्ने गरी पूर्वाधार निर्माण कार्य गर्ने योजना अगाडि सारेको छ । उनले सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई सुधार गर्दै निजी क्षेत्रमार्फत द्रुत मार्ग निर्माण गर्ने जानकारी दिए । 

यस्तै, मुक्तिनाथ र उपल्लो मुस्ताङलाई जोड्ने सडक विस्तार गर्ने पनि उनले जानकारी दिए ।

स्थानीय पालिकासँगको सहकार्यमा काठमाडौंमा नेवाः संग्रहालय स्थापना गरिने 

सरकारले स्थानीय पालिकाको सहकार्यमा काठमाडौंमा नेवाः संग्रहालय स्थापना गर्ने भएको छ । आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

राष्ट्रपति चुरे कार्यक्रमका लागि २ अर्ब १७ करोड

सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यकमका लागि २ अर्ब १७ करोड विनियोजन गरेको छ ।अर्थमन्त्री जनार्दशन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिए ।

डडेलधुरा, बलेवा, दाङ र टीकापुर विमानस्थल स्तरोन्नति गरिने

सरकारले डडेलधुरा, बलेवा, दाङ र टीकापुर विमानस्थल स्तरोन्नति गर्ने भएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले डडेलधुरा, बलेवा, दाङ र टीकापुर विमानस्थल स्तरोन्नति गर्ने घोषणा गरेका हुन् ।