April 30, 2026, Thursday
२०८३ बैशाख १७

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं : पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । प्रहरीका जानकारीअनुसार तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

जहाज पोखरा विमानस्थलबाट १९ जना यात्रु लिएर ९ः५५ मा उडेको थियो भने अवतरण समय १०ः१५ मा थियो । १९ यात्रुसहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् ।

जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन ।

प्रहरीका अनुसार जहाजमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । जहाजबारे खोजविन सुरु भएको छ ।

मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहानैदेखि मुस्ताङसहितका उच्च पहाडी र हिमाली भागमा बदलीको अवस्था छ ।