April 18, 2026, Saturday
२०८३ बैशाख ५

कञ्चनपुरको भीमदत्त र पुनर्वास नगरपालिकामा कांग्रेस विजयी

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गरेका छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

नवनिर्वाचित बोगटी कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्तमा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित भएका थिए ।

त्यसैगरी, उपप्रमुखमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २१६ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उमेदवार कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गरेका छन् । १९ वडा रहेको भीमदत्तमा कांग्रेसले १३ वडाध्यक्षसमेत जितेको छ ।

पुनर्वासमा कांग्रेस विजयी


कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसका उमेदवार नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । नगर प्रमुखमा तोयप्रसाद शर्माले १० हजार ६०० र उपप्रमुखमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो नगर प्रमुखमा एमालेका पदम पुजाराले चार हजार ६७४ र एकीकृत समाजवादीका उमेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ मत ल्याएका छन् ।

पुनर्वास नगरपालिकाको निवर्तमान मेयर समेत रहेका थापा नेकपा एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्ष पनि हुन् । उपमेयरमा गठबन्धनबाट माओवादीका धोखे रानाले ५ हजार ४९२ मत पाउँदा एमालेकी सुशिला खत्रीले ५ हजार ३०३ मत ल्याइन् ।

पुनर्वासमा कांग्रेसका मेयर शर्मा र उपमेयर राना दोस्रो प्रयासमा सफल भएका हुन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा दुबै जना नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।