April 19, 2026, Sunday
२०८३ बैशाख ७

फेरी पेट्रोल, ग्याससहित पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं : फेरी सरकारले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्याँसका लागि १८०० रुपैयाँ पर्नेछ । हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रूपैयाँ पुगेको छ।

भारतीय आयल कर्पोरेसन (आइओसीले) पठाएको पछिल्लो मूल्यका आधारमा आयल निगमले मूल्य समायोजन गरेको बताएको छ।

समायोजनपछिको मूल्यमा पनि निगमलाई महिनामा ग्यासमा करिब तीन अर्ब, डिजेलमा करिब तीन अर्ब ४० करोड र पेट्रोलमा एक करोड रूपैयाँ घाटा हुने देखिएको छ ।

निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा लिटरको २२।११ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १३।९८ रूपैयाँ र बाह्यतर्फ ५९।८१ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ।

युक्रेनमाथि रूसी आक्रमणपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेको छ। कच्चा तेलको मूल्य उकालो लागेसँगै पेट्रोल लगायत इन्धनको भाउ बढेको हो। अर्कातर्फ आयल निगम पहिल्यैदेखि घाटामा चलिरहेको थियो। त्यसैले अहिले नेपाली बजारमा इन्धनको भाउ छोटो समयमै धेरै बढिरहेको छ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र(पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।