April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीमा स्थानीय तह निर्वाचन तालमेल गरेर जाने सत्ता गठबन्धन दलबीच सैद्धान्तिक सहमती

डोटी : डोटीमा सत्तारूढ गठबन्धन दलहरूबीच आशन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमती भएको छ । केन्द्रीय सर्कुलर अनुसार नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिँहको अध्यक्षतामा आज बसेको दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा आवश्यकता र आपसी सहमतिका आधारमा तालमेल गर्ने गरी निर्णय भएको कांग्रेस उपसभापति बाजीसिंह खड्काले बताए ।

निर्णयमा तालमेल गर्नेबाहेकको अन्य ठोस निर्णयभने केही भएको छैन । निर्णयमा आपसी समझदारीका आधारमा गठबन्धन गरी निर्वाचनमा सहभागि हुनेु भनी उल्लेख गरिएको छ ।

बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू सहभागि थिए । कांग्रेसका सभापति सिंहसहित उपसभापति बाजीसिंह खड्का (बिजय) एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटी र नेता नारद मलासी र माओवादी केन्द्रका खगेन्द्र साउँद सहभागि थिए ।

डोटीमा सत्तारूढ गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) को प्रभाव निकै फितलो छ भने राष्ट्रिय जनमोर्चासँग केही मत छ । तर उसलाई छलफलमा बोलाएको भने देखिदैन ।

डोटीमा दलबीचमा छलफल र यस्तो निर्णय भएपनि अन्तमा सबै स्थानीय तहमा गठबन्धन हुने सम्भावना भने न्युन छ । यस अघिको स्थानीय चुनावमा डोटीका ९ वटा पालिकाहरु मध्ये तीन पालिकामा कांग्रेसले जितेको थियो भने एक पालिकामा माओवादीले जितेको थियो । बाँकी ५ पालिकामा एमालेले जितेको थियो ।