April 18, 2026, Saturday
२०८३ बैशाख ५

कञ्चनपुरमा एमालेबाट निर्वाचित मेयर चन्दसहित करिब पाँच सय जना एकीकृत समाजवादीमा प्रवेश

धनगढी : कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक चन्द एकीकृत समाजवादीमा प्रबेश गरेका छन् । नेकपा एमालेबाट निर्वाचित मेयर चन्दसहित करिब पाँच सय जना नेकपा एकीकृत समाजवादीमा लागेका हुन्।

कञ्चनपुरको वेदकोट नगरपालिका-३ दैजीमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरेका छन् ।

मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका पाँच जना वडाध्यक्ष, वडा सदस्य, जिल्ला कमिटी सदस्य र सल्लाहकार सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेको बताइएको छ।

मेयर चन्दसहित वडा नम्बर ३ का वडाध्यक्ष तिलक ठकुल्ला, ४ का भास्कर भट्ट, ७ का वीरबहादुर डगौरा, ८ का दुर्गासिंह भन्डारी र १० का वडाध्यक्ष केशव रावल समाजवादीमा लागेका हुन्। यस्तै अन्य कार्यपालिका सदस्यहरु, एमाले जिल्ला कमिटी सचिवालय सदस्यहरु र जिल्ला कमिटी सल्लाहकारसहित करिब पाँच सय जना समाजवादीमा प्रवेश गरेको बताइएको छ।

गत पुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् ।

पार्टी विभाजन भएका बेला समेत एमालेमै बसेका चन्द पार्टी अध्यक्ष सुरेन्द्र विष्ट समूहको पेलानमा परेका कारण बाध्य भएर अर्को बाटो रोज्नुु परेको निकटस्थहरुलाई बताउने गरेका छन् ।

पार्टी विभाजनपछि भने उनी दस बुँदे कार्यान्वयन हुने अपेक्षामा एमालेमै रहेका थिए। एमालेको पुस अन्तिममा सम्पन्न जिल्ला कमिटीको अधिवेशनमा चन्द सचिवमा झिनो मतले पराजित भएका थिए। पराजय स्वीकार गर्दा पनि आफ्नो प्यानलका निर्वाचित साथीहरुलाई कुनै पनि जिम्मेवारी नदिएको भन्दै उनी रुष्ट बनेका थिए।