स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट सुनिश्चित

काठमाडौँ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको हो।
निर्वाचन आयोगले गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगले अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता प्राप्त गरेको बताएका हुन्।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० वटा राजनीतिक दल दर्ता भएका र तिनको अध्ययन भइरहेको भन्दै उनले निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्र प्रकाशन गरिसकिने जानकारी दिए।
निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली पनि आयोगले सम्बन्धित निकायबाट पाइसकेको उनले उल्लेख गरे। उनले भने, ‘स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आयोगले नेपाल सरकार अर्थ मन्त्रालयबाट रु ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त गरेको छ।’
प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेबसाइटमा हेर्न सकिने जानकारी पनि दिए।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै आयोगका प्रवक्ता पौडेलले विद्युतीय मतदान प्रक्रियामा जानु चुनौतीपूर्ण भएकाले सो विषय छलफलकै क्रममा रहेको बताए। उनले कानुनको अभावका कारण विदेशमा रहेका नेपाली नागरिकहरुको मताधिकार संरक्षण गर्न सम्भव नभएको पनि बताए। आगामी दिनमा कानुन बनेर आएमा विदेशमा रहेका नागरिकले मतदान गर्न सम्भव हुने उनको भनाइ छ।





प्रतिकृया दिनुहोस्