भारतीय आयल कर्पोरेसनले बढायो पेट्रोलियम पदार्थको मूल्य, फेरि मूल्य वृद्धि हुने

काठमाडौँ : इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने भएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने भएको हो ।
भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमले जनाएको छ।
मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
“रसिया र युक्रेनबीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झन्डै अमेरिकी डलर ९५ देखि १०५ प्रतिब्यारेलसम्म पुगिसकेको अवस्था छ,” नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “इन्डियन आयल कर्पोरेसनबाट यसअघि फेब्रुअरी १६ (फागुन ४) मा प्राप्त मूल्यभन्दा आज मार्च १ (फागुन १७) मा प्राप्त नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल तीन रुपैयाँ ८९ पैसा, डिजेल तीन रुपैयाँ ०८ पैसा, मट्टितेल १० रुपैयाँ ३० पैसा, हवाई इन्धन तीन रुपैयाँ ३२ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर ९९ रुपैयाँ १७ पैसाले बढेर आएको हुँदा निगमलाई आगामी १५ दिनमा करिब तीन अर्ब नौ करोड घाटा हुने स्थिति देखिएको छ ।”
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले पुनः मूल्य बढ्ने संकेत निगमले गरेको छ । “चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म निगमले करिब २८ अर्ब नोक्सानी व्यहोरिसकेको छ । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाई राख्न पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ बमोजिम सानो अंशले मूल्य समायोजन गर्दा अब प्रतिमहिना करिब ६ अर्बभन्दा बढी नोक्सानी हुने स्थिति रही सो बराबरको रकम ऋण लिनुपर्ने बाध्यात्मक अवस्था सिजना भएको,” आयल निगमको विज्ञप्तिमा भनिएको छ ।





प्रतिकृया दिनुहोस्