डोटीमा पत्रकारहरुले नि:शुल्क यात्रा गर्न पाउने

डोटी : डोटीमा पत्रकारहरुले नि:शुल्क यात्रा गर्न पाउने भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिकाले संचालन गरेको बसमा पत्रकारहरुले नि:शुल्क यात्रा गर्न पाउने भएका हुन् ।
नेपाल पत्रकार महासंघ डोटी शाखाले बिहीबार नगरप्रमुख मञ्जु मलासीलाई नगरबसमा भाडा छुट गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । परिचयपत्र बोकेका क्रियाशील पत्रकारहरुलाई आजकै मितिबाट नगरबसमा गाडी भाडा छुट गरिने नगरप्रमुख मलासीले बताइन् ।
पत्रकार महासंघले नगरबसमा भाडा छुट, पत्रकारहरूको क्षमता अभिवद्धि तालिम लगायतका माग राखेर ज्ञापनपत्र बुझाएको थियो । महासंघका अध्यक्ष मोहन शाहीले बुझाएको ज्ञापनपत्र बुझ्दै नगरप्रमुख मलासीले परिचयपत्र बोकेका पत्रकारहरुलाई नगरबसमा आजैबाट नि:शुल्क गरिने बताइन् ।
यसअघि नगरबसमा विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट गरिँदै आएको उनले बताइन् । यस्तै शिखर नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको दिन देखिनै पत्रकारहरु, जेष्ठ नागरिकहरु र अपाङ्गता भएका व्यक्तिलाई बस भाडा नि:शुल्क गरेको थियो ।
दिपायल सिलगढी नगरपालिकाको नगरबस दिपायल देखि सिलगढी सम्म सञ्चालनमा छ भने शिखर नगरपालिकाको नगरबस डोटी र डडेलधुराको सीमा कोरालखोला देखि दिपायल सम्म सञ्चालन हुने गरेको छ ।





प्रतिकृया दिनुहोस्