April 18, 2026, Saturday
२०८३ बैशाख ५

पर्व छठको अवसरमा सिँगारिदै मोहना नदी

कैलाली, कात्तिक २३ (ई-रैवार)

धनगढीको मोहना नदी यतिबेला बेहुलीझैँ सिँगारिन थालिएको छ। मैथिली भाषीको मौलिक पर्व छठको अवसरमा मोहना तट सिँगारिन थालिएको हो।

अहिले नदी किनारमा टेन्ट टाँगेर झकिझकाउ बनाइएको छ। सोमबारदेखि मोहना तटमा टेन्ट टाँगेर सरसफाई गरिएसँगै सिँगार पटार गरिन थालिएको हो।

‘हिजोदेखि हामीले मोहना नदी किनारमा सरसफाई गर्नुका साथै सिँगार पटार गर्न थालेका हौँ,’ छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले भने,‘पूजा गर्ने स्थलमा मण्डप बनाएर सिँगारिन थालिएको हो।’ अहिले नदी किनारमा कारिगढहरुले भगवानका मूर्तिहरु बनाउन थालेको बताउँदै उनले भने,‘छठ पूजामा भगवानका मूर्तिहरु बनाएर महाआरती गर्नुका साथै भजन कीर्तन पनि हुनेछ।’

छठ पर्वमा भक्तजनले माछा, मासु, प्याज, लसुन नखाई शुद्ध खाना खाएर मनाउने गरिएको छ। यस पर्वमा विशेष गरेर सूर्यनारायणको पूजा गरिन्छ। सोमबारबाट सुरु भएको छठ पर्वमा पहिलो दिन नहाइ खाई, दोस्रो दिन बेलुकी गुडबाट बनेको परिकार ‘खरना’ प्रशादका रुपमा खाने गरिन्छ।

यस्तै तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसी भजन कीर्तन गर्ने गरिन्छ भने त्यसको भोलिपल्ट बिहानै उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिने गरेको उनले बताए। नागरिक दैनिकबाट