April 18, 2026, Saturday
२०८३ बैशाख ५

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

कञ्चनपुर, जेठ २८ (ई-रैवार) 

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । वेदकोट नगरपालिका–५ मा स्थानीय युवतीमाथि दुईजना युवकले सामूहिक बलात्कार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बलात्कार गरेको आरोपमा वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको बताए । अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

बिहीवार नर्सरीमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले बलात्कार गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले बताएकी छन् । फरार युवकको खोजी कार्यसँगै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।