April 18, 2026, Saturday
२०८३ बैशाख ५

युद्ध भूमिमा जुरेको जोडी

पुष्पराज जोशी /

समाज परिवर्तन गर्ने भन्दै झोला काँधमा भिरेर भूमिगत बने कैलालीका उद्धव भट्टराई । तत्कालीन भूमिगत माओवादीको भातृ संगठन क्रान्तिकारी विद्यार्थी संगठनको जिल्ला अध्यक्षको भूमिकामा रहेको भट्टराई युवा थिए । ०६० सालमा भूमिगत शैलीमै विद्यार्थीहरुलाई प्रशिक्षण दिने र संगठन विस्तार गर्ने सिलसिलामा कैलालीको मसुरियास्थित कैलासपुरमा थिए । त्यही समयमा तत्कालीन माओवादीले पहाडका डाँडाकाँडाबाट डोके एफएमका रुपमा सेती महाकाली रेडियो जनगणतन्त्र सञ्चालन गरेको थियो । त्यही एफएमको समाचार वाचिका थिइन्, चित्रा भट्ट । रेडियोमा समाचार वाचन गर्ने कला भएकी चित्राको समाचार त्यतीबेला गाउँघरमा एफएममार्फत माओवादी कार्यकर्ता र स्थानीय सुन्थे । उनको मधुर बोली एफएममार्फत् सुनेका उद्धव र चित्राको कैलासपुरमै भेट भयो । भेटकै क्रममा एकअर्कासँग नजिकिए र बुझ्ने प्रयास गरे । केही दिनको भेटपछि पुनः चित्रा एफएममा समाचार वाचनकै सिलसिलामा चुरे हुँदै डोटीका डाँडाकाँडा धाउन थालिन् । तत्कालीन समयमा माओवादीले डोकोमा बोकेर एफएम सञ्चालन गर्दै आएको थियो । पहिलो नजरमै प्रेमको मुना पलाइसकेको थियो उद्धव र चित्राको । यसैबीच २०६२ मा  भट्टराई पुनः विद्यार्थी संगठन विस्तारका क्रममा कैलालीको चुरे क्षेत्रमा पर्ने धमकोट पुगे । धमकोटबाटै उनले चित्रालाई प्रेमप्रस्तावका रुपमा पत्र पठाए । पत्रको जवाफ नअए पनि प्रतीक्षामा बसेका उद्धवसँग पुनः चित्राको भेट कैलालीमै भयो । उनले पठाएको पत्रको जवाफको प्रतीक्षामा रहेका उद्धवको प्रस्ताव सहर्ष स्वीकारिन् चित्राले । त्यहीबाट ‘अफेयर’ चलेको उद्धव र चित्राको प्रेमले २०६४ सालमा धनगढीमा जनवादी विवाह गरेर घरजम बसे ।

चित्रा र उद्धवझैँ समाज परिवर्तन गर्ने उद्देश्यका साथ माओवादी ‘लाल सेना’मा भर्ना भए अछामका ललित शाह उर्फ तुफान । बन्दूकसहित सैन्य पोशाकमा सजिएका  तुफान दुस्मन खोज्न कञ्चनपुर कालागौडी खटिए । द्वन्द्व चरम उत्कर्षमा पुगेका बेला (२०६१) दुस्मन खोज्दै छापामारसँगै हिँड्नु तुफानको दिनचर्या थियो । युद्ध जित्ने हिम्मतसँगै फरक बटालिएनकी कलावती विष्टसँगको पहिलो नजरमै मुटुको एउटा कुनामा माया अंकुराइसकेको थियो । कालागौडीकै पहिलो भेट नै अन्ततः जीवन साथीका रूपमा परिणत भएको पत्तै पाएनन् तुफानले ।

दुस्मन खोज्दै गाउँगाउँ डुलेर कैलालीको मसुरिया फर्कने बेला प्रेममा परेको अनुभूति स्मरण गर्दै तुफान भन्छन्, ‘युद्ध चलिरहेकै बेला दुस्मनको एम्बुसमा कतिखेर परिने हो थाहै हुँदैन थ्यो, त्यो बीचमा पनि मुटुको एउटा कुनामा ‘प्रेम’ धड्किएको आभाष हुन्थ्यो ।’ युद्धकालीन समयमा प्रेम भौतिक सुखभन्दा पनि साहसमा परिणत हुने गरेको उनी सम्झन्छन् । शान्ति प्रक्रियापश्चात् बहुवीर योद्धा विग्रेड सहजपुरमा रहँदा उनी स्वास्थ्य विभागमा सरुवा भए । सोही विभागमै कलावती पनि थिइन् । फरक विभागमा रहँदा अक्कल झुक्कल भेटिने उनीहरूको एउटै विभागमा सरुवा भएपछि प्रायः भेट भइरहन्थ्यो । कसिँदै गएको प्रेमलाई मूर्तरूप दिन उनीहरूले माओवादी शिविरमै २०६४ मंसिर २६ गते जनवादी विवाह गरे । विवाहपछि माओवादी सातौँ डिभिजन मुख्य कार्यालय तालबन्द मसुरियामा सरुवा भएका उनीहरूले अन्ततः सेना समायोजनमा स्वऐच्छिक अवकास लिए । युद्धकालीन दिन स्मरणीय रहेको बताउँदै शाही भन्छन्, ‘युद्धले नै जुराएछ हाम्रो जोडीलाई ।’ दुई छोरीसहित अहिले शाही परिवार कैलालीको गौरीगंगा–७, कैलाशपुरमा बस्दै आएको छ ।

सामन्तविरुद्ध लड्दै युद्ध जित्न उत्साहित गर्ने खालका गीत गाउँदै दोलखाकी निरमाया थापा द्वन्द्वकालमा भूमिगत भइन् । मन्जुर सांस्कृतिक परिवारको टोलीमा जनवादी गीत गाउँदागाउँदै २०६० मा कैलालीको फूलबारीमा दार्चुलाका रमेश धामीसँग भेट भयो । रमेश तत्कालीन समयमा कैलालीको एरिया कमिटी सदस्य थिए । उनी राजनीतिक प्रशिक्षण दिँदै कार्यकर्ता निर्माणको अभियानमा थिए भने निरमाया गीत संगीतमार्फत् पार्टीमा कार्यकर्ता आकर्षित गर्थिन् । भेटका क्रममा दुवैले एक अर्कालाई बुझ्ने प्रयास गरे । त्यसै क्रममा रमेशले निरमायालाई प्रेम प्रस्ताव राखे । उनले पनि सहर्ष स्वीकारिन् । प्रेम प्रस्तावलाई उनीहरुले तुरुन्तै विवाहमा परिणत गरे । २०६० वैशाख २८ मा फूलबारीमै जनवादी विवाह भयो रमेश र निरमायाको । फरक संगठनको जिम्मेबारी सम्हालेका दुवै छुटिए । रमेश कार्यकर्ता निर्माणका क्रममा फूलबारीमै हुन्थे भने निरमाया संगीतिक टोली परिचालनका क्रममा पहाडमा हुन्थिन् । दुवैको भेट महिनौपछि हुन्थ्यो । पछि शान्ति प्रक्रियामा आइसकेपछि भने दुवै धनगढीमै बस्दै आएका छन् ।

युद्धभूमिमै अङ्कुराएको प्रेम सम्बन्ध तमामौ जोडीले शान्ति प्रक्रियापश्चात् वैवाहिक जीवनमा परिणत गरेका छन् ।  उद्धव र चित्रा अनि दार्चुलाका रमेश र दोलखाकी निरमाया, अछामका तुफान र कलावतीजस्तै अछामका निर्मल र पशुपति पनि युद्धकालीन समयमा माओवादी व्यारेकमै वैवाहिक जीवनमा बाँधिएका हुन् । उनीहरुको  प्रेम कथा पनि गज्जवको छ ।  नरबहादुर शाह उर्फ निर्मल र पशुपति अधिकारी उर्फ प्रेरणाको भेट पनि जनयुद्धकालमै अछाममै भयो । निर्मल तत्कालीन समयमा जनमुक्ति सेनाका चलायमान सेना थिए भने प्रेरणा अखिल नेपाल महिला संघमा कार्यकर्ताको भूमिकामा थिइन् । अछाममै पार्टीको कामको सिलसिलामा २०६० माघमा भेट भयो । युद्ध भूमिमै भएको भेटमा दुवैले एक अर्कालाई मन पराए । निर्मलले प्रेम प्रस्ताव राखे । प्रेरणाले सहर्ष स्वीकारिन् । ‘तत्कालीन समयमा प्रेम प्रस्तावका बारेमा पार्टीमा कुरा राख्नु पथ्र्यो,’ विगत सम्झँदै निर्मलले भने,‘हामीले प्रेम प्रस्तावबारे पार्टीमा कुरा राख्यौँ र स्वीकृति लियौँ ।’ प्रेममा परेको एक वर्षपछि २०६१ वैशाख २ गते कैलालीको खिमडीमा उनीहरुको जनवादी विवाह भयो । जनवादी विवाह कार्यक्रममा गस्तीमा रहेका साथीहरुको ‘मिस फायर’ खुल्यो । ‘मिस फायर’ खुल्ने वित्तिकै वैवाहिक कार्यक्रममा सहभागीहरुको भागभाग भयो । ‘विहेको कार्यक्रम चल्दै थियो,’ उनले भने,‘हाम्रै साथीहरुको ‘मिस फायर’ हुँदा तत्कालीन समयमा शाही सेना आए भनेर सबैको भागाभाग भयो ।’ केही समयपछि आफ्नै साथीको ‘मिस फायर’ भएको थाहा पाएपछि पुनः वैवाहिक स्थलमा फर्किएको स्मरण उनले गरे ।  ‘मर्ने र मार्ने लक्ष्य बोकेर हिँडेका हाम्रो अन्ततः प्रेमिल घरजम भयो,’ उनले भने,‘दुस्मन खोज्न हिँडेका हामी अन्ततः प्रेम जोडीमा कसिँदै युद्धभूमिमै वैवाहिक बन्धनमा बाँधिएछौँ,’ उनले विगत सम्झँदै भने ।

नागरिक दैनिकबाट