April 18, 2026, Saturday
२०८३ बैशाख ५

पृथ्वीजयन्ती बिशेष कबिता ‘के नाम मेटिन्छ र ?’

के नाम मेटिन्छ र ?


कबिता (शार्दूलविक्रीडित छन्द)


नेपाली मन यो प्रगाढ ममता, छल्किन्छ छाती भरी ।
नेपाली पन को छ चिन्ह मुटुमा, हो स्वर्गको मञ्जरी ।।
धावा दुश्मन को टिकेन क्षणमा, यो सान थर्किन्छ र ?
पुर्खाको बलिदान त्याग यसमै, के नाम मेटिन्छ र ?
……
हाम्रो धर्म र कर्म शान्त रसको, हो एकताको बल ।
योद्धा वीर हजार लाख सजिलै, जन्माउने यो थल ।।
जन्मे राष्ट्र पिता जुटे दुख गरे, त्यो त्याग भत्किन्छ र ?
सिङ्गो देश छ गर्व साथ सँगमा, के नाम मेटिन्छ र ?
………
पूर्वै पश्चिम तर्फ देश रचियो, टिष्टा र त्यो काँगडा ।
बाँधे सुत्र र एकता पनि गरे, तस्मात भन्छन् बडा ।।
धर्ती छैन भने खुला गगनमा, यो पाउ टेकिन्छ र ?
पृथ्वीले यस देश सिर्जन गरे,के नाम मेटिन्छ र ?
……….
टुक्रे राज्यहरू मिलाइ लहरै, नेपाल सिङ्गो भयो ।
यो संसार भरी चिनिन्छ पदवी, सम्मान गोर्खा रह्यो ।।
माया छत्तिस वर्ण चार थरको, यो आत्म बिर्सिन्छ र ?
पुष्पोद्या अति रौम्य नन्दन सरी, के नाम मेटिन्छ र ?
………
मेरो देश पवित्र शान्त धरणी, जस्ले गरे सिर्जन ।
लाग्ला पाप हुनेछ भूल अवता, खोज्नेछ जो बिर्सन ।।
सच्चा गोरखनाथ हुन् सुनिदिने, आभास तर्किन्छ र ?
बुझ्छन् अन्तर ध्यान ले पशुपती, के नाम मेटिन्छ र ?
…….
च्यात्दैछन् इतिहास मूर्ख नरले, ढल्दै गए सालिक ।
जस्को कर्म रहेन देश हितमा, भन्छन् अरे मालिक ।।
रुन्छन् हिन्दु समस्त देश लुटिँदा, के शान्ति फर्किन्छ र ?
टिक्ला त्यो अपराध हेर कति नै, के नाम मेटिन्छ र ?
….


-डिलबहादुर महरा ‘अविचल’