काठमाण्डौका विद्यार्थीलाई हेरेर विद्यार्थी सिकाई सहजीकरण निर्देशिका ल्याएको आरोप

धनगढी, भदौ ३१ (ई-रैवार)
सरकारले ल्याएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ काठमाण्डौका विद्यार्थीलाई हेरेर ल्याइएको आरोप लगाईएको छ । बुधवार धनगढी उप–महानगरपालिकाले आयोजना गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ का बिषयमा शिक्षा सरोकारवालाहरुको छलफल कार्यक्रममा यस्तो आरोप लगाएका हुन ।
‘सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ तयार गर्दा काठमाण्डौका वालबालिकाहरुलाई मात्रै सम्झीयो शिक्षा क्षेत्रका अगुवा करुणाकर पाण्डेयले भने, ‘उनिहरुले दुर्गमका बालवालिकाहरुलाई सम्झीन सकेन ।’
‘माथिल्लो कक्षाका बालवालिकाहरुलाई हामीले अभ्यास गरेर हेर्दा अनलाईन कक्षा प्रभावकारी देखिएन पाण्डेयले भने, ‘तल्लो कक्षामा कसरी सम्भव हुन्छ ।’ ‘यहाँ टेलिफोन नलाग्ने ठाउँहरु पनि रहेको बताउदै पाण्डेले भने, ‘ईन्टरनेटको सेवा दिन बजार पुग्नुपर्छ ।’
‘कतिपय नगरभित्रकै ठाउँहरुमा सञ्चार सम्पर्क छैन धनगढीको पञ्चोदय माध्यमिक विद्यालयका प्रअ हरिष ओझाले भने, ‘उनिहरु कसरी अनलाईनको पहुँचमा आउन सक्दछन् ।’ ‘पञ्चोदयमा दृष्टी बिहीनहरुको पनि पढाई हुन्छ प्रअ ओझाले भने, भन्नुहोस उनिहरुलाई कसरी परामर्श दिने ?
‘अनलाईन कक्षा संचालनका लागि ईन्टरनेट र स्मार्ट मोवाईल वा कम्यूटर आवश्यक पर्छ धनगढीको त्रिगर माविका प्रअ भूपाल सिंह खड्काले भने, लकडाउनका कारण छाकटार्न समस्या भएकाहरुले कसरी त्यसको ब्यबस्थापन गर्दछ ।’ ‘निजी विद्यालयहरु र निजी श्रोतका विद्यालयका शिक्षकहरुले गत चैत देखिको तलव पाएका छैनन् प्रअ खड्काले भने, उनिहरुलाई कसरी काम लगाउने ।’
धनगढीका कतिपय विद्यालयहरुले अनलाईन कक्षा संचालनका लागि भन्दै अभिभावकहरु संग शुल्क समेत तोकेको तर त्यस बिषयमा अभिभावकहरुले नकारात्कम टिप्पणी गर्न थालेको कुरा पनि छलफलमा उठेको थियो ।
विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को कार्यान्वयन गर्ने तर कसरी गर्ने भन्ने बारेमा सुझाव संकलन गर्ने र त्यसको कार्यान्वयन ढाँचा तयार पार्ने गरि छलफल भैरहेको धनगढी उप–महानगरपालिकाले जनाएको छ ।
छलफलमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समन्वय ईकाई प्रमुख, नगरका सरकारी, निजी तथा संस्थागत विद्यालयमा प्रतिनीधीहरुको सहभागिता रहेको छ ।





प्रतिकृया दिनुहोस्