March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

कोरोना ‘भ्याक्सिन’२०२१ को मध्यसम्ममा पनि आउने सम्भावना न्यून : डब्ल्यूएचओ

काठमाडौं, भदौ २३ (ई-रैवार)

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सन् २०२१ को मध्यसम्ममा वृहत स्तरमा कोरोना भाइरसविरुद्धको कुनै खोप नआउने जनाएको छ ।

अहिलेसम्म कुनै पनि भ्याक्सिन कोरोना विरुद्धको प्रभावशाली नठहरिएकोले अर्को वर्षको मध्यसम्म केहि भन्न नसकिने डब्ल्यूएचओले बताएको हो ।

डब्ल्यूएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले कोरोना भ्याक्सीनको प्रभाव र सुरक्षालाई हेरेर मात्र प्रयोग गरिने बताएकी छन् । अहिले विभिन्न कम्पनीका भ्याक्सिनहरु परीक्षणको अन्तिम चरणको ट्रायलमा छ ।

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारी विश्वव्यापी फैलिएको छ ।

वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

रुस र चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको बताएका छन । तर उनीहरुको भ्याक्सिनको ट्रायल अन्तिम चरणको बाँकी नै रहेकोले डब्ल्यूएचओले यसलाई मान्यता दिएको छैन ।