March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डले जित्यो टी–२० सिरिज

काठमाडौं, भदौ २२ (ई-रैवार)

इंग्ल्याण्डले अन्तिम खेलअघि नै अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–२० सिरिज जितेको छ । आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेपछि इंग्ल्यान्डले एक खेल अगाबै सिरिज आफ्नो पक्षमा पारेको हो ।

पहिलो खेलमा २ रनको जित हात पारेको इंग्ल्याण्डले २–० को अग्रता लिएको थियो ।

साउथह्याम्पटनको रोज बलमा भएको खेलमा अष्ट्रेलियाले दिएको १ सय ५८ रनको लक्ष्य इंग्ल्यान्डले १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डलाई जित दिलाउन ओपनर जोस बट्लरले अविजित रहदै ७७ रन बनाए । यस्तै डेविड मालनले ४२ रन जोडे । मोइन अली १३ रनमा अविजित रहे । अष्ट्रेलियाका एस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कुस स्टोनिसले ३५ रन बनाएका थिए ।

यस्तै ग्लेन म्याक्सवेलले २६, एस्टन अगरले २३ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए । जोफ्रा आर्चर,मार्क उड एदिल राशिदले १–१ विकेट लिए ।

तेस्रो तथा अन्तम खेल मंगलबार हुनेछ । टी२० सिरिजपछि अष्ट्रेलिया र इंग्ल्यान्डबीच तीन खेलको ओडिआई सिरिज हुनेछ । सिरिज सेप्टेम्बर ११ बाट सुरु हुनेछ । एजेन्सी