October 29, 2026, Thursday
२०८३ कार्तिक १३

डा. गोविन्द केसीको सत्याग्रह अनिश्चितकालका लागि स्थगित

 

धनगढी, भदौ १८ (ई-रैवार) 

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आजदेखि घोषणा गरिएको सत्याग्रह स्थगित गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै उनले जुम्लावासीको विशेष आग्रहलाई मनन् गर्दै सत्याग्रह केही समयका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।

सरकारले माग पूरा नगरे जुन सुकै बेला पनि पुन : सत्याग्रह सुरु गर्ने उनको भनाई छ । डा. केसीले पछिल्लो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गनुपर्नेलगायत यसअघि सरकारसंग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग राखेर आजदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए ।

उनले चार माग अघि सारी सत्याग्रहको तयारी गरेका थिए  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको पहिलो माग छ । उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन सुरु गर्न, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन उनले माग गरेका छन् ।

१० साउन ०७५ मा भएको सम्झौता कार्यान्वयन गरी चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने उनको दोस्रो माग छ । चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्न उनले माग गरेका छन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने उनको तेस्रो माग छ । विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाबअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न उनले माग गरेका छन् ।

अछामको बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्न पनि उनले माग गरेका छन् । हुम्ला, मुगु र कालिकोटमा स्वास्थ्य शिविर चलाएर डा. केसी जुम्ला पुगेका छन् । उनी एक महिनादेखि जुम्लामा छन् ।

साथै उनले एकतातिर कोभिड–१९ को महामारी चलिरहेका बेला देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञाले अर्थतन्त्र ठप्प हुँदा लाखौँ मानिस भोकभोकै परेको तथा अरू रोगका बिरामीले उपचारै नपाएर ज्यान गुमाउनुपरेको बताएका छन् ।