पञ्चदेवल विनायक नगरपालिका दुई वडाअध्यक्ष विरुद्ध उजुरी

अछाम, भदौ १४ (ई-रैवार)
जिल्ला प्रहरी कार्यालय अछाममा २ जना वडा अध्यक्ष विरुद्ध उजुरी दर्ता भएको छ । अछाम पञ्चदेवल विनायक नगरपालिका ५ र ६ नम्बर वडाका अध्यक्ष विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दर्ता भएको हो ।
पञ्चदेवल विनायक नगरपालिकाका दुबै वडा अध्यक्षले जलविद्युत आयोजनाको कुलो र खानेपानी योजना भत्काएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
५ नम्बर वडाका वडाध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो र ६ नम्बरका अध्यक्ष पूर्ण रावलको नेतृत्वमा निर्माणाधिन जामुने खानेपानी योजना भत्काएको भन्दै स्थानीय बासिन्दाले उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिएका छन् ।
बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो भत्काएको भन्दै उनीलगायत १० जनाको नाममा र वडा अध्यक्ष रावलको नेतृत्वमा जामुने खानेपानी योजना भत्काएको भन्दै उनीलगायत ८ जनाको नाममा किटानीसहित मुद्दा दर्ता भएको सूचना अधिकारी अवस्थीले जानकारी दिएका छन् ।
वडाअध्यक्ष वुढाको नेतृत्वमा पञ्चदेवल विनायक नगरपालिकाको मुख्य विद्युत आपूर्तिको माध्यम क्षतविक्षत बनाइएपछि ६ दिनदेखि नगरपालिकाका पाँचवटा वडा अन्धकारमय भएको स्थानीय शेरबहादुर वुढाले जानकारी दिए ।
वडाध्यक्षकै नेतृत्वमा गएको समूहले जलविद्युतको करिब एक सय मिटर कुलो भत्काएको वुढाको भनाई रहेको छ । आफ्नो वडालाई मुहानबाट खानेपानी ल्याउन नदिएको झोकमा विद्युतको कुलो भत्काएको बुझिएको छ । लघु जलविद्युतको बाध, प्यानास्टिक पाइप भत्काइएको छ ।
यस्तै ६ नम्बर वडाका अध्यक्ष रावलको नेतृत्वमा जामुने खानेपानी योजना भत्काईको स्थानीयको आरोप छ । उक्त आयोजना भत्काउदा २० लाख वढीको क्षति भएको स्थानीय बखत विष्टले जानकारी दिएका छन् ।
‘हिजो शनिवार भएका कारण पक्राउको लागि अनुमति पूर्जी लिन सकिएन, आज अनुमति पूर्जी लिएर पक्राउ गरिन छ’, जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी अवस्थीले भने ।





प्रतिकृया दिनुहोस्