जमैकाको जितमा सन्दीपको २ विकेट

काठमाडौं, भदौ १४ (ई-रैवार)
जमैका तलाबाजको जितमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले पराजित गर्दा सन्दीपले दुई विकेट लिएका हुन् ।
सन्दीप सम्मिलित जमैकाले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको प्याट्रियट्सले १९।४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १० रन मात्र बनाउन सक्यो । प्याट्रियट्सका लागि किरन पावेल र एभिन लुइसले सर्वाधिक समान २१–२१ रन जोडे । त्यस्तै निक केल्लीले १६, दिनेस रामदिनले १३ तथा इमरान खानले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।
बलिङतर्फ जमैकाका लागि कार्लोस ब्रेथवेटले तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, भिरासमी पर्मौल र फिल्ड इड्वार्ड्सले समान दुईदुई विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका ग्लेन फ्लिप्सले सर्वाधिक ७९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै जर्मेन ब्ल्याक्वुडले २७, नरुम बोन्नरले १६ तथा आसिफ अलीले १४ रनको योगदान गरे ।
६ खेल खेलेको जमैकाको यो तेस्रो जित हो । यो जितसँगै जमैका अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता पराजित प्याट्रियट्स भने समान खेलमा एक जितसहित तालिकाको पुछारमा छ ।
एजेन्सी
प्रतिकृया दिनुहोस्