काठमाडौंबाट सरुवा भई बैतडी आएका ४ प्रहरीमा कोरोना संक्रमण

बैतडी, भदौ ८ (ई-रैवार)
काठमाडौंबाट सरुवा भई बैतडी आएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएकोे छ। गत साउन २९ गते काठमाडौंबाट बैतडी सरुवा भएका एक प्रहरी जवान र एक अर्का प्रहरी जवानकी ६ महिने छोरीमा पनि कोरोना पुष्टि भएको हो ।
आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक प्रहरी जवानसहित जिल्लाका ४ जनामा कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।
काठमाडौंबाट सरुवा भई इलाका प्रहरी कार्यालय पाटनमा आएका ३१ बर्षीय प्रहरी जवान, काठमाडौंबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएकी प्रहरी जवानकी ६ महिने छोरी, सुर्नया गाउँपालिकाका ३९ वर्षीय पुरुष र दशरथचन्द नगरपालिका ९ का २६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएका प्रहरी जवानको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ भने ६ महिने बालिका आफ्नै आमासँग क्वारेन्टाइनमा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए ।
यस्तै सुर्नया र दशरथचन्द नगरपालिका ९ का कोरोना पुष्टि भएका पुरुष दुवै जना भारतबाट फर्केर घरमै बसिरहेका स्वास्थ्य कार्यालयका कोभिड १९ सम्र्पक व्यक्ति जोशीले जानकारी दिए ।
होम क्वारेन्टाइनमा बस्ने भन्दै उनीहरु घर फर्केका र घर फर्केपछि उनीहरुमा कोरोना पुष्टि भएको हो। भारतबाट फर्केर सिधै घर पुगेकाहरुमा कोरोना देखिएपछि समुदायमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको जोशीले बताए ।
जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा भारतबाट फर्केकालाई अनिवार्य संस्थागत क्वारेन्टाइनमा राख्ने निर्णय गरेको भए पनि सो निर्णय कार्यान्वयन नहुँदा समुदायमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको हो ।





प्रतिकृया दिनुहोस्