April 18, 2026, Saturday
२०८३ बैशाख ५

एटिएम मेसिनमा पर्याप्त नगद राख्न बैंकहरुलाई निर्देशन

 

काठमाडौं, भदौ ४ (ई-रैवार)

नेपाल राष्ट्र बैंकले एटिएम मेसिनमा पर्याप्त नगद राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । कोभिड–१९ रोकथामका लागि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा लकडाउन – निषेधाज्ञा जारी भएपछि राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चितता प्रदान गर्न र एटिएम मेसिनमा पर्याप्त नगद र निगरानी राख्न भनेको हो ।

यसैगरी, राष्ट्र बैंकले स्थानीय प्रशासनसँग समन्वय गरेर सम्भव भएसम्म निश्चित समयका बैंकका शाखा खोल्न भनेको छ। आलोपालो प्रणालीमा न्यूनतम कर्मचारीबाट न्यूनतम संख्यामा शाखा खोलेर आधारभूत बैंकिङ कारोबार (नगद भुक्तानी–जम्मा, बैंक ट्रान्सफर, चेक क्लियरिङ) सूचारु गर्न भनेको हो ।

त्यस्तै, सेवा सञ्चालनमा रहेका शाखाको विवरण र सम्पर्क व्यक्तिको नम्बर वेबसाइटमा अद्यावधिक गर्न र बन्द रहने शाखाको मुल ढोकामा वैकल्पिक शाखाको विवरण टास गर्न भनिएको छ ।

राष्ट्र बैंकले अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टिटी, प्रतिपत्र, ग्यारेन्टी जस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन समेत भनेको छ ।