नेपाली सेनाको हेलिकप्टर सहित उद्धार टोली घटनास्थल पुग्यो

अछाम, भदौ ३ (ई-रैवार)
बाढीले क्षति पुर्याएको अछामको रामारोशन गाउँपालिकामा उद्धारको लागी नेपाली सेनाको हेलिकप्टर पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमा घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना र प्रहरीसहितको टोली सैनीबजार पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय नेतृत्वमा नेपाली सेना र प्रहरीसहितको टोली घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि परिचालन भएको बताइएको छ । घटनास्थलमा देखिएका तीन घाइतेलाई तत्काल अस्पताल लैजाने तयारी भइरहेको प्रजिअ उपाध्यायले बताएका छन् ।
मंगलबार राति आएको बाढीले बगाएका ७ जनाको शव फेला परेको छ । बाढीले बगाएर वेपत्ता भएका १७ जनाको पहिचान खुलेको छ । रामारोशन गाउँपालिकाको वडा नम्बर ५ सैनिबजारबाट बगाएका स्थानीय नन्दु साउदको १० जना परिवार सहित सबैको परिचय खुलेको हो ।
बाढीमा वेपत्ता हुनेमा चन्द्र ब साउद, बशुन्धरा साउद, नन्द सिं साउद, गंगा साउद, रुपेस साउद, जोगा साउद, नबिन साउद, कबिता बुढा साउद, अमर बहादुर शाह, पबित्रा शाह, समिर शाह, लालसरा शाही, बशन्त शाही, गौरी शाह, सम्झना शाह, प्राप्ति साउद र बिमा साउद रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान रामारोशन गाउँपालिकाको सान्तडा स्थित सैनीबजारमा पसेको बाढीले १७ घर पसलहरु बगेको बताइएको छ । अहिलेसम्म ६ जनाको शव फेला परेको र १७ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । १७ घर मध्य ७ वटा घरका मानिस बेपत्ता भएका हुन ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरक्षिक योगेन्द्रसिंह थापाका अनुसार ‘रामारोसन गाउँपालिका–५ को सैनीबजारमा २ दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन्,’ उनका अनुसार खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ । कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको छ ।





प्रतिकृया दिनुहोस्