April 18, 2026, Saturday
२०८३ बैशाख ५

अछाममा बाढीले ठूलो जनधनको क्षति, ६ जनाको मृत्यु, १७ बढी बेपत्ता

 

अछाम, भदौ ३ (ई-रैवार)

अछाममा निरन्तरको बर्षासंगै खोलामा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । जिल्लाको रामारोशन–३ सान्तडा स्थित सैनीबजारको पुरै बस्ती बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना भन्दा बढी बेपत्ता भएका छन् ।

मध्यरातमा कैलाश खोलामा आएको बाढीले सैनी बजारका घर बगाउँदा १७ जना सम्पर्क विहीन भएका र ६ जनाको शव फेला परेको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले बताए ।

सदरमुकाम सहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली घटनास्थलमा गइरहेकोले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

४ जनाको शव बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा फेला परेको हो भने २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानियले बताएका छन् । अहिले उद्धारका लागि प्रहरी प्रशासन, प्रहरी नेपाली सेना सहित जनप्रतिनीधीहरु, उद्धारकर्मिको टोलि सैनिबजारमा हिडिसकेको छ ।

बाटोघाटो समेत बाढीले बगाएका कारण उद्धार टोली सदरमुकामबाट हिडेपनि पुग्न सकेको छैन । जिल्लाबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले चाडै हेलिकप्टर मार्फत उद्धारका लागि केन्द्रसँग समन्वय भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।