April 18, 2026, Saturday
२०८३ बैशाख ५

संक्रमण बढ्दै गएपछि बैतडीमा ४ गतेदेखि लकडाउन गरिने

 

बैतडी, भदौ १  (ई-रैवार)

बैतडीमा ४ गतेदेखि लकडाउन हुने भएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि बैतडीमा भदौ ४ गतेदेखि लकडाउन गरिने हुने भएको हो ।

बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले संक्रमण बढ्दै गएको भन्दै ४ गतेदेखि भदौ १५ गते सम्म लकडाउन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

लकडाउन अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिएका छन । लकडाउनमा नगर क्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साध मात्रै सञ्चालन गर्न दिने निर्णय भएको छ।

नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीन दिनमात्रै खुला राख्ने निर्णय भएको छ । गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाई पसल र कपडा पसलहरु बिहान ७ देखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्रै खुला राख्ने निर्णय गरिएको नगरप्रमुख थापाले बताउ ।

यस्तै, धार्मिक स्थलहरुमा नित्य पूजाबाहेक भीडभाड हुने खालका सबै जात्रा,मेला स्थगित गरिएका छन् । चाडपर्वहरू आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ ।

नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमिनारहरूमा रोक लगाइएको नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । नगरपालिका र ११ वटै वडा कार्यालयहरूले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने सूचनामा उल्लेख छ ।

गौरा, तीज लगायतका चाडपर्वका बेला सदरमुकाम क्षेत्रमा अरु पालिकाको भन्दा बढी भीडभाड हुने भएकोले लकडाउन गर्ने निर्णय गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् ।

यस्तै, डिलाशैनी गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कोभिड १९ संक्रमण बढिरहेकाले भीडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेको छ ।

गौरा पर्व नजिक आइरहेको सन्दर्भमा दैनिक नित्य पूजाआजा बाहेक भीडभाड हुने खालका धार्मिक कार्यक्रम नगर्न अनुरोध गरेको छ । बैतडीमा हालसम्म ३ सय २३ जनामा कोरोना पुष्टि भएको छ । ४ जना सक्रिय संक्रमित रहेका छन् ।