April 18, 2026, Saturday
२०८३ बैशाख ५

कार्यदल गठनसँगै मन्त्री हेरफेरको चर्चा चलेपछि नेकपाले बोलायो सचिवालय बैठक

 

काठमाडौं, साउन  ३२ (ई-रैवार)

कार्यदल गठनसँगै मन्त्री हेरफेरको चर्चा चलेपछि नेकपाले सचिवालय बैठक बोलाएको छ। सोमबार बिहान साढे ९ बजे नेकपा सचिवालयको बैठक बस्ने नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

आन्तरिक विवाद मिलाउन अध्यक्ष ओली–दाहालले कार्यदल बनाएपछि कार्यदलमार्फत मन्त्री हेरफेर गर्ने तयारी गरिएको बताइएको छ। कार्यदल गठनमा ओली–दाहालले एकलौटी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठ असन्तुष्ट रहेका छन् ।

शनिबार खुमलटारमा अध्यक्ष प्रचण्डलाई भेटेरै उनीहरुले दुई अध्यक्षको निर्णयबाट मात्रै कार्यदल गठन गरिएकोमा बैधानिकता नपाउने टिप्पणी गरेका थिए।

नेकपा स्रोतका अनुसार अहिले संघीय सरकारदेखि प्रदेश सरकार सम्मका मन्त्री हेरफेर गर्ने तयारी गरिएको छ। संघीय मन्त्रिपरिषदमा कार्यक्षमतामा पछाडि परेका मन्त्रीहरूलाई बिदा गरेर यस अघि सफल नेताहरूलाई मन्त्रिपरिषदमा अवसर दिने गरी छलफल अघि बढेको बताइएको छ ।