April 18, 2026, Saturday
२०८३ बैशाख ५

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७१ पुग्यो

 

 काठमाडौं, साउन २३ (ई-रैवार)

पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।  अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार अस्पतालमा उपचाररत ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको हो ।

सुनौली घर भएकी मृतक महिलालाई पाठेघरको क्यान्सर रहेको डा. शर्माले जानकारी दिए । उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै सर्लाही घर भएका पुरूषको बिहान साढे नौं बजे मृत्यु भएको थियो । डा. शर्माका अनुसार उनलाई कुकुरले समेत टोकेको थियो । कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइराखेको थियो ।

बिहीबार साँझ पनि अस्पतालमा वीरगन्जका ४५ वर्षीय संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । मृतक पुरुषमा मधुमेह र रक्तचापको समस्या रहेको बताए । स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार राति १० : ४५ बजे सिराहाका २५ वर्षीय कोभिड संक्रमित युवाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

प्रवक्ता डा. सापकोटाका अनुसार ती युवा दुई वर्षदेखि मिर्गौला रोगी थिए । ती युवाले जनकपुर अस्पतालमा नियमित हप्तामा २ पटक डाइलासिस डायलसिस गराउँदै आएका थिए ।

कोरोना संक्रमण पृष्टि भएकोले जनकपुर अस्पतालले बिहीबार उनलाई धरानस्थित प्रतिष्ठानमा डाइलाइसिसको लागि रिफर गरिदिएको थियो । उनको साउन १९ गते स्वाब संकलन गरिएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।