राष्ट्रियसभाका चार वटै समितिमा सभापति निर्विरोध

काठमाडौं, साउन २३ (ई-रैवार)
राष्ट्रियसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध भएका हुन् ।
दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएको संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
सर्वसम्मत निर्वाचित हुने चार जना सभापतिमध्ये दुई जना नेकपाका, एक जना सरकारबाट मनोनित र एक जना नेपाली कांग्रेसका सांसद हुन् ।
राष्ट्रिय सभाका विषयगत समितिका सभापति र समिति सदस्यको कार्यकाल दुई वर्ष रहने व्यवस्था छ । हरेक २ वर्षमा एक तिहाइ राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिने र ती ठाउँमा निर्वाचन हुने भएकाले नयाँ सांसद आएसँगै समिति पुनर्गठन हुन्छ ।
दुई वर्षमा नयाँ सदस्य आएसँगै सभापति र सदस्यहरु फेरिने भए पनि गाणतन्त्र पछिको पहिलो कार्यकालमा सभापति भएकाहरु पुनः एक पटक दोहोरिएका छन् ।
आवश्यकता र दलको चाहना अनुसार यसपटक चार वटै सभापतिहरुको एक कार्यकाल दोहोर्याइएको राष्ट्रियसभामा सत्तारुढ दल नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए ।
कांग्रेस सांसद प्रकाश पन्थ लगातयले भने नयाँ सदस्यहरु निर्वाचित भएर आएलगत्तै फागुनमै समिति सभापति र समिति सदस्यहरुको पुनर्गठन गर्नुपर्ने माग राख्दै आएका थिए ।





प्रतिकृया दिनुहोस्