March 10, 2025, Monday
२६ फाल्गुन २०८१, सोमबार

विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुग्यो

 

काठमाडौं, श्रावण २२ (ई-रैवार)

लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । ४ हजारभन्दा धेरै मानिस घाइते भएका छन् ।

मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् ।

लेबनान सरकारले यो विष्फोटको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । अनुसन्धानका लागि बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको छ ।

विष्फोट यति भयानक थियो कि त्यसको आवाज करिब २ सय ४० किलोमिटर टाढा रहेको साइप्रस सम्म सुनिएको थियो । विष्फोटका कारण भवनहरु भत्किएर खण्डहरमा परिणत भएका छन् । टाढा–टाढासम्मका भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेरुत विस्फोटलाई आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोट मध्येको एक भनेका छन् ।

दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमामा खसालेको अणु बमको शक्तिको १० भागको एक भागजति शक्तिशाली विष्फोट बेरुतमा भएको उनीहरुले बताएका छन् ।